नवलपरासीको भारतीय अतिक्रमित भूमि सुस्ताबाट मतपेटिका ल्याउन नारायणी नदीमा डुङ्गाको प्रयोग गरिने भएको छ

नवलपरासी, मंसिर २० –नवलपरासीको भारतीय अतिक्रमित भूमि सुस्ताबाट सदरमुकामसम्म मतपेटिका ल्याउनका लागि नारायणी नदीमा डुङ्गाको प्रयोग गरिने भएको छ । नवलपरासीको सुस्ता गाउँपालिका –५, अन्र्तगत नारायणी पारी पर्ने जनता दलित आधारभूत विद्यालयमा रहेको मतदानस्थलका मतपेटिका डुङ्गाबाट ल्याउने तयारी गरिएको हो ।

डुङ्गाबाट नारायणी पारगरि त्सपछि सदरमुकाम परासीमा ३ घण्टाभित्रै मतपेटिका ल्याउने गरि तयारी गरिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताउनुभयो । सुस्ताबाट डुङ्गामा झण्डै डेढ घण्टा समय नारायणी पार गर्न मात्र लाग्छ ।

प्रदेश ५ मा पर्ने सुस्ता गाउँपालिकाको सुस्ताको त्यस मतदानस्थलमा २ सय ९८ मतदाता रहेका छन् । भारतीय अतिक्रमित भूमि सुस्तामा पुग्न नेपालको बाटोबाट नारायणी नदीमा डुङ्गाबाट पार गरेर जानुपर्ने हुन्छ । नत्र भारतीय भूमि प्रयोग गरेर जानुपर्ने बाध्यता रहेको छ ।

सुस्ता पश्चिमका जिल्ला निर्वाचन अधिकारी दिपक पौडेलले परासी क्षेत्रको मतगणना परासीमा रहेको आदर्श माविमा गरिने जानकारी दिनुभयो । मतगणनाका लागि अहिले ६ वटा कोठा तयार गरिएको र ती सबै कोठामा सिसी क्यामेरा जडान गरिएको समेत बताउनुभयो । यदि मतपेटिका समयमै आइपुगे चुनावकै दिन रातिबाट मतगणना सुरु गरिने पौडेलले बताउनुभयो ।

त्यस्तै नवलपुर क्षेत्रमा धेरैजसो पहाडी क्षेत्र भएकाले मतपेटिका सदरमुकाम कावासोतीसम्म ल्याउनका लागि समय लाग्ने भएकाले मतपेटिका अबेर रातिसम्म आइपुग्ने नवलपुरका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले बताउनुभयो । पहाडी क्षेत्रबाट मतपेटिका ल्याउनका लागि गाडीको व्यवस्था गरिएको र आवश्यक परेको खण्डमा वैकल्पिक व्यवस्थासमेत गरिएको मरासिनीले बताउनुभयो । मतपेटिका ल्याउनेक्रममा कुनै बाधा अडचन भए हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको मरासिनीले जानकारी दिनुभयो ।

नवलपुरको कावासेतीमा रहेको शिव माविमा मतगणनाको तयारी गरिएको छ । मतगण्ना स्थलमा सिसी क्यामेरा जडान गर्ने कामसमेत भैरहको नवलपुरका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले बताउनुभयो । पहाडी क्षत्रबाट मतपेटिका लयाउनका लागि समय लाग्ने भएकाले सम्भवतः शुक्रवारबाट मात्रै मतगणना सुरु हुने सुवेदीको भनाई रहेको छ ।

 

कमेन्टहरु
Loading...