दोस्रो बृहत खेलकुद महोत्सव शुरु

पोखरा, ८ पुस/पोखरा रंगशालामा आईतबारदेखि दोस्रो बृहत खेलकुद महोत्सव शुरु भएको छ । सैनिक आवासिय महाविद्यालय फुलबारीका धावक विनोद गुरुङले १५ सय मिटर पुरुष दौडमा महोत्सवकै पहिलो स्वण जित्न सफल भएका छन् । निर्धारित दुरी चार मिनेट ३८ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेका हुन् । त्यसैगरी अर्मला गविसका पुर्णबहादुर गुरुङले चार मिनेट ४४ सेकेण्डमा पुरा गर्दै रजत र रुपाकोट गाविसका प्रकाश सुवेदीले चार मिनेट ४६ सेकेण्डमा पुरा गर्दै कास्य पदक जितेका हुन् । उनीहरु तीनैजना धावकलाई शान्ति तथा पुनर्निर्माण मन्त्री टोपबहादुर रायमाझीले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

कास्की जिल्ला खेलकुद विकास समितिको आयोजना तथा सम्बन्धी खेल सँघको व्यवस्थापनमा सञ्चालित प्रतियोगितामा विभिन्न बीस खेलमा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । आईतबारै भएको बास्केटबल तर्फको प्रतिस्पर्धामा पार्चे गाविसले लेखनाथको अर्घौलाई ६९–४४ स्कोरले पराजित गर्दै क्र्वाटरफाईनलमा प्रवेश गरेको छ ।

यसैगरी अर्को खेलमा घान्द्रुक गाविसले रामबजारलाई ५८–४९ स्कोरमा पन्छाउँदै अगाडि बढ्यो भने लामाचौर गाविसले बाझापाटनलाई पनि ७०–५२ को फराकिलो स्कोरमा पराजित गरेको छ । यसैगरी पुन समाजले रामबजार १० लाई ४९–३६ को स्कोरमा पराजित गर्दै क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

उता पुरुष भलिबल तर्फको प्रतिस्पर्धामा भने लामाचौर गाविसले आर्वाविजय गाविसलाई सोझो तीन सेटले पराजित गरेको छ । लामाचौरले २५–१४, २५–१७ र २५–१६ को सेटले पराजित गरेको हो । अर्को खेल सैम¥याङ गाविस र भरतपोखरी गाविस बीच भइरहेको छ । यसैगरी पोखरा रंगशालाभित्रको ह्याण्डबल कोर्टमा भएको पहिलो खेलमा लिटिल स्टेप उच्चमाविले सोसियल पब्लिक स्कुलाई १६–४ को फराकिलो गोलअन्तरले पराजित गरेको छ ।

उदघाटन समारोहमा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले खेलकुद विकासको लागि खेलकुद विकास बोर्ड गठनको प्रक्रियामा रहेको जानकारी दिए । खेलाडीहरुलाई ओलम्पिकमा स्वर्ण जिते एककरोड, रजतलाई ७५ लाख र कास्य पदक जित्नेलाई ५० लाख रुपियाँ दिने सरकारले निर्णय गरेको समेत उनले बताए । एशियन खेलकुदमा स्वर्ण जित्ने खेलाडीलाई २५ लाख, रजत जित्नेलाई १५ र कास्य पदक जित्ने खेलाडीलाई १० लाख रुपियाँ दिने बताएको छ । दक्षिण एशियाली खेलकुदमा पदक विजेताहरुलाई क्रमश ५, ३र २ लाख रुपियाँ दिने राखेपका सदस्य सचिव लामाले जानकारी दिए । खेलकुद महोत्सवको उदघाटन शान्ति तथा पुनर्निर्माण मन्त्री टोपबहादुर रायमाझीले गरेका थिए । महोत्सवमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा तथा कार्यालय प्रमुख प्रकाश बरालले पनि बोलेका थिए ।

कमेन्टहरु
Loading...