तनहुँको जामुनेमा पहिरो खस्दा,एकै स्थानमा ७ जनाको मृत्यु

अविरल बर्षाका कारण डाँडाबाट पहिरो खसेर घर पुरिंदा तनहुँको जामुने गाविस वडा नं १  ट्याँकिडाँडामा ७ जनाको मृत्यु भएको छ । स्थानिय साई बहादुर विकको घर पुरिंदा उनकी श्रीमती २४ बर्षिया रुपा विक, छोरीहरु ८ बर्षिया पुर्णिमा विक, ६ बर्षिया देवीमाया विक, छिमेकीहरु २० बर्षिया शुष्मा विक, उनका २ बर्षिया छोरी रेखा विक, १५ बर्षिया सम्झना विक र १५ बर्षकै दुर्गा विकको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।

मृतक रुपाको श्रीमान वैदेशिक रोजगारीका शिलशिलामा भारत रहेकाले उनलाई साथी दिन आएका छिमेकीहरु पनि पहिरोमा परी मृत्यु भएको स्थानियले बताएका छन् । हिजोरातीदेखि अविरल रुपमा परेको बर्षाका कारण विहान सवा ३ बजेतिर पहिरो खस्दा घटना घटेको प्रहरीले जानकारी दिएको छ ।

घटना थाहा पाएलगत्तै उद्धारका लागि स्थानियबासी र प्रहरीको टोली पुग्दा सबै जनाको मृत्यु भैसकेको थियो । मृतक सबैको शव घटनास्थलबाट झिकिसकिएको र दमौली ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...