जनआन्दोलनका घाईतेद्वारा सरल र सहज उपचारको माग

कास्की । चैत १५ गते/जनआन्दोलन शहिद परिवार तथा घाईते समन्वय समितिले जनआन्दोलनका घाईतेहरुलाई सरल र सहज उपचारको माग गर्दै पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई विहीबार ज्ञापनपत्र बुझाएको छ । समितिका अध्यक्ष ढाकाराम पौडेलले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल विकास समितिका अध्यक्ष गंगाप्रसाद पोखरेललाई ज्ञापनपत्र बुझाउदै ऐतिहासिक जनआन्दोलन ०६२÷०६३ का घाईतेहरुले उपचार गराउदा अस्पतालमा झन्झटिलो र केही स्वास्थ्यकर्मीको वेवास्ताका कारण मर्कामा परेको बताए । उनले अस्पतालमा सम्भावित रोजगारीको लागि जनआन्दोलनका घाईते र घाईते आश्रित परिवारलाई प्राथमिकता दिनु पर्ने र अस्पतालको खातामा रहेको घाईते उपचार कोषको वार्षिक आय–व्यय सार्वजनिक गर्नु पर्ने माग गरे । ज्ञापनपत्र बुझ्दै अस्पताल विकास समितिका अध्यक्ष गंगाप्रसाद पोखरेलले जनआन्दोलनका घाईतेहरुको उपचारको लागि राज्यले नीति नियम निर्माण नगर्दा उनीहरुले समस्या भोग्न परेको बताउदै अस्पतालले घाईतेहरुलाई प्राथमिकताका साथ उपचार गराउन प्रतिवद्ध रहेको बताए । उनले उपचारकोषको खाता सार्वजनिक गरी जनआन्दोलनका घाईते र घाईते आश्रित परिवारलाई रोजगारीको लागि प्राथमिकता दिने बताए । जनआन्दोलन ०६२÷०६३ का घाईतेहरुले उपचारको लागि विभिन्न संघ–संस्थाको सहयोग र पहलमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका सुपरीटेण्डेण्टको संयोजकत्वमा हिमचुली विकास बैंकको खाता नम्बर १०० मा तत्कालीन समयमा रु. १० लाख रकम जम्मा गरी सोही रकमबाट घाईतेहरुको उपचार हुँदै आएको छ ।

कमेन्टहरु
Loading...