खाएको बिल लाखौँ पुग्दा पनि नतिरे पछी प्रधानमन्त्रीपत्नी डा.आरजुसँग होटल ब्यवसायी हैरान,धम्काएको पनि आरोप

काठमाडौं, २० मंसिर । सुदूरपश्चिमाञ्चललाई सुनको टुक्रा बनाउँछु भन्दै धनगढीबाट उठेकी  प्रधानमन्त्रीपत्नी डा.आरजु देउवाको खाएको र बसेको पैसासमेत नतिर्ने बानीबाट धनगढीदेखि महेन्द्रनगरसम्मका होटल व्यवसायी हैरान भएका छन् । आरजुको चुनावमा खटिने कार्यकर्तालाई खाने–बस्नेदेखि मोटरसाइकल–गाडीसम्मको खाँचो छैन । उनले टोलटोलमै समूह–समूहमा विविध काम र शीर्षकअन्तर्गत मागबमोजिम रकम उपलब्ध गराउँदै आएकी छन् ।

बाटो, पुल तथा अस्पताल निर्माणका लागि सम्बन्धित सरकारी कार्यालयका कर्मचारीलाई आफूसँगै उपस्थित गराएर योजना तुरुन्त बनाई कार्यान्वयनमा लागिहाल्न निर्देशन पनि दिने गरेकी छन् । यसरी पानीसरी पैसा उडाउने उनका लागि खर्च भने कसरी हात पारिँदो रहेछ भन्ने यो एउटा उदाहरण पनि हो ।

जनतामाझ सरकारी कार्यालयका हाकिमहरूलाई हप्काएर कुरा राख्ने उनले छुट्टै हुनासाथ अघि कडासँग प्रस्तुत भएकामा नरिसाउनुहोला । त्यति गरेन भने जनताको विश्वास जित्न सकिँदैन भनी क्षमाको भाव पनि देखाउँछिन् । टुरिस्ट उम्मेदवारको आरोप लागेपछि ३ करोडमा घर किनेकी आरजुले होटलमा खाए÷बसेको रकम भने लाखौं पुग्दा पनि तिरेकी छैनन्, आजको जनआस्था साप्ताहिकमा समाचा छ– होटलवालाले अब उधारो खुवाउन नसक्ने भनी तत्काल बाँकी तिर्न गनगन गर्दा टेलिकमकै नाममा बिल बनाएर क्षेत्रीय कार्यालय धनगढीमा पठाएकी छन् । यसअघि नै आरजुको टोलीले पैसा मागेर हैरानी दिएपछि मागेजति नभए पनि डेढ लाख रुपैयाँ पठाएको धनगढी दूरसञ्चार कार्यालयले अरू साढे ४ लाखको बिल आएपछि आरजुको पैसा तान्ने प्रवृत्ति छरपष्ट भएको हो ।

धनगढीस्थित रुबुस होटल र टिभोटी होटलमा भएको डेढ÷डेढ लाख खर्चको बिल अहिले टेलिकम कार्यालयमा आइपुगेको छ । सो रकम आफूले तिर्न नसक्ने भएपछि उसले केन्द्रमा बिलसहित निवेदन लेखी पठाएको छ । महेन्द्रनगरस्थित होटल ओपेरामा आरजुको चुनावका नाममा भएको डेढ लाखको अर्काे बिल पनि टेलिकममा फस्र्याेटका लागि पठाइएको छ । सार्वजनिक संस्थानबाट कम्पनीमा रूपान्तरण भइसकेको नेपाल टेलिकममा  थुप्रै नेपालीको सेयरमार्फत लगानी रहेको छ । सर्वसाधारणको अर्बाैं लगानी छ । तर, यी सब कुराको बेवास्ता गर्दै नेपाल टेलिकम व्यवस्थापनले यसअघि नै सञ्चारमन्त्री मोहन बस्नेतलाई २ करोड चुनावअघि नै दिइसकेको छ । मोहनकै लागि कम्पनीले ५ वटा अत्याधुनिक गाडीसमेत चुनावअघि चालक, इन्धनसहित पठाएको छ ।

लाखौं सर्वसाधारणको लगानी रहेको कम्पनीको करोडौं र गाडी कुनै राजनीतिक पार्टीका लागि दिने अधिकार टेलिकम व्यवस्थापनलाई छैन । यसको जवाफ कम्पनीको नेतृत्वले कसरी दिन्छ ? अहिले त झन् आरजुको चुनाव खर्च र होटल खर्चसमेत केन्द्रीय कार्यालयमा आइपुगेपछि कर्मचारी विरोधमा उत्रन लागेका छन् । एकरत्ति पनि लाज नमानी आफूले र कार्यकर्ताले पिएका वाइन र ह्विस्कीको रकम सर्वसाधारणले पाउने पैसाबाट तिर्न दबाब दिने गलत कार्यप्रति अख्तियारले आँखा चिम्लेला ?

कमेन्टहरु
Loading...