कोटेश्वर–कलंकी सडक ‘रोड सेफ्टी’का हिसाबले असुरक्षित

काठमाडौं, १० असार । चिनियाँ प्रविधि र प्राविधिक प्रयोग गरी निर्माण भएको कोटेश्वर–कलंकी सडक ‘रोड सेफ्टी’का हिसाबले असुरक्षित देखिएको छ ।

दुईतर्फ कालोपत्रे सकिएपछि ग्वार्कोदेखि सानेपा पुलसम्मको खण्डमा मात्रै ११ महिनायता २२९ सवारी दुर्घटना भएका छन् ।  नयाँ पत्रिका दैनिकका अनुसार दुर्घटनामा १२ जनाले ज्यान गुमाएका छन् भने १०९ घाइते भएको महानगरीय ट्राफिक प्रहरी वृत्त सातदोबाटोले जनाएकाे छ ।

सडकमा ट्राफिक लाइट, लेन लाइन, जेब्रा क्रसिङ, आकाशे पुल तथा वैज्ञानिक फुटपाथ नहुँदा दुर्घटना बढेको सातदोबाटो ट्राफिक वृत्तका प्रमुख सीताराम हाछेथू बताउँछन् । ‘सडकको दुवैतर्फ आंशिक रूपमा गाडी चलेको ११ महिनाजति भयो । यस अवधिमा २ सय २९ दुर्घटना भए । १२ जनाले त ज्यानै गुमाए,’ हाछेथूले भने, ‘सडकमा लेन रेखा छैन । सडक बत्ती छैन । जेब्राक्रसिङ छैन । न ट्राफिक लाइट राखिएका छन् । सडक पूर्ण रूपमा सञ्चालन नहुँदै यति धेरै दुर्घटना हुनुको कारण यही हो ।’

 

कमेन्टहरु
Loading...