प्रचन्डको सवारी अगाडि मोटरसाइकल चलाउँदा १५ सय जरिवाना

काठमाडौँ : कोसी अञ्चल अस्पतालमा रहेकी बिरामी ठुली आमालाई खाना लिएर हिँडेका एक युवकको लाइसेन्स प्रहरीले खोसेको छ । ट्राफिक नियम पालना नगरेकाले लाइसेन्स खोसिनु स्वभाविक थियो । तर इटहरीका सरोज कार्कीको हकमा भने ट्राफिक प्रहरीले फरक कारण देखायो ।

बिरामी ठुली आमाका लागि खाना लिएर अस्पतालतर्फ जाँदै गरेका सरोजमाथि प्रहरीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सवार गाडी अगाडि मोटरसाइकल चलाएको आरोप लगायो ।

सोमबार बिहान पौने ११ बजेको समयमा विराटनगरस्थित भाटभटेनी सुपर स्टोर अगाडि पुगेको समयमा प्रहरीले सरोजलाई रोकेनन् मात्रै को १९ प ७३५५ नम्बरको मोटरसाइकलमा सवार उनको लाइसेन्स नै खोसिदिए ।

सरोजलाई कोसी अञ्चल अस्पतालको बेड नम्बर १२८ मा उपचाररत ठुली आमालाई खाना पुर्‍याउने हतार भएका बेला सुरक्षाकर्मीले नेकपा अध्यक्ष दाहाल आएकले उनको अगाडि मोटरसाइकल गुडाउन नमिल्ने भन्दै रोकिदिए र अध्यक्ष दाहालको गाडी नजाउन्जेल जानै नमिल्ने भन्दै कार्कीलाई सुरक्षाकर्मीले थर्काउँदै त्यहीँ रोके ।

दाहाल मुल सडकबाट गएपछि कार्कीले ठुलीआमालाई खान पुर्‍याउन भ्याए । तर उनले ट्राफिक प्रहरीलाई १५ सय रुपैयाँ जरिवाना तिर्नुपर्‍यो । आफूले कुनै नियम नतोडेकै अवस्थामा ट्राफिकले १५ सय जरिबाना तिराएको गुनासो कार्कीले गरे ।

कमेन्टहरु
Loading...