अभिनेत्री मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’को पोखरा लिटरेचर फेस्टिभलमा लन्च हुने

काठमाडौं, २ पुष /बलिउडकी चर्चित अभिनेत्री मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’को ग्लोबल लन्च आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८ मा विमोचन हुने भएको छ । पुस ७ देखि १० गतेसम्म पोखरामा आयोजना हुने सातौं संस्करणको फेस्टिभलको पहिलो दिन कृति विमोचन हुने सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

पेनगुइनले प्रकाशनमा ल्याएको पुस्तकको नेपाली अनुवाद फाइनप्रिन्टबाट आउने पनि सम्मेलनमा जानकारी दिएको छ । कार्यक्रममा कोइरालाले आफूलाई क्यान्सर लागिसकेपछि भएको दुःख र अनौठो किसिमको अनुभूतिलाई पुस्तकमा समेटेको बताइन् । क्यान्सर भइसकेपछि आफ्नो जीवन कसरी अघि बढिरहेको छ भन्नेसमेत पुस्तकमा उल्लेख रहेको उनको भनाई छ ।

‘क्यान्सर लागेपछि पाएको पुनर्जीवनबारेको अनुभव मैले सबैसमक्ष सेयर गर्नुपर्छ भनेर पुस्तक लेखेकी हुुँ । यो पुस्तक नेपाली भाषामा फाइनप्रिन्टले प्रकाशन गर्दै छ । यसमा म अति खुसी छु,’ उनले भनिन् । उपचारका क्रममा आफूलाई मानसिक एवम् शारीरिक रुपमा कसरी बलियो राखें भन्ने कुरा पनि पुस्तकमा समेटिएको उनले बताए ।

कार्यक्रममा फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले मनीषा कोइराला जस्तो चर्चित व्यक्तित्वको पुस्तकलाई फेस्टिभलमा विमोचन गर्न पाउनु आफूहरुका लागि गौरवको विषय रहेको बताए । पुस्तकको नेपाली अनुवाद फाइनप्रिन्टबाट आउने घोषणा गर्न पाउँदा पनि आफूहरु खुसी रहेको उनको भनाई छ ।

‘फेस्टिभलमा पुस्तक विमोचन गर्न पाउनु पनि हाम्रा लागि खुसीको विषय हो । हामी अत्यन्त खुसी छौं,’ उनले भने, ‘यो हाम्रा लागि गौरवको विषय हो ।’ अभिनेत्री कोइरालाले नेपाली संस्करणमा प्रकाशन हुने पुस्तकको पेस्कीबापत आएको रकम क्यान्सर केयर नेपाललाई हस्तान्तरण समेत गरेकी थिइन् ।

कमेन्टहरु
Loading...