अम्बिकाले ल्याइन् शिलाजित

पोखरा, २६ माघ/कवि र गायिकाको पहिचान बनाएकी अम्बिका भण्डारीले शुक्रबार नयाँ परिचय बनाइन् । उनको पहिलो मुक्तक सञ्चयन ‘शिलाजित’ साहित्यकार सरुभक्तले लोकार्षण गरे । दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोषले प्रकाशन गरेको संग्रहमा ८२ मुक्तक छन् । सरुभक्तले मुक्तक नेपाली साहित्यको लोकप्रिय र स्थापित विधा भइसकेको बताए । उनले भने, ‘अब मुक्तकलाई कसैले होच्याउन सक्दैन ।’

भारतका विख्यात कवि हरिवंश रायबच्चनका रुवाइयातको उदाहरण दिँदै उनले मुक्तक गेयात्मक पनि हुने उल्लेख गरे । नेपालमा कविहरुले नै मुक्तक रचना गरेकाले कविताझैं मुक्तक वाचनमात्र भएको तर्क गर्दै उनले भने, ‘अब मुक्तक गायनतिर पनि ध्यान दिऊ ।’ सरुभक्तले स्रष्टा महिला वा पुरुष नभएर स्रष्टा नै हुने भए पनि नेपालमा अझै अधिकारको आन्दोलन नसकिएकाले नारी लेखकका आफ्नै मञ्च आवश्यक रहेको उनले बताए ।

मुक्तकलाई उनले संक्षिप्तमा धेरै कुरा भन्न सक्ने विधाको रुपमा अथ्र्याए । उनले भने, ‘मुक्तक सागरलाई गागरमा अटाउने विधा हो ।’ समीक्षक फडिन्द्र अकिञ्चनले शिलाजितका मुक्तकले जीवनको समीक्षा गरेको तर्क गरे । मुक्तकको रुप र विषयवस्तु दुवै दृष्टिले भण्डारीका मुक्तक प्रभावशाली रहेको उनको भनाइ छ । मुक्तककार अम्बिका भण्डारीले आफूले जीवनमा भोगको, देखेका र सुनेका विषयलाई मुक्तकको रुप दिएको बताइन् । उनले साहित्यिक यात्रामा अझ समर्पित भएर लाग्ने प्रतिवद्धतासमेत गरिन् ।

नारी प्रतिभा वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष छन्दिका त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार पद्यराज ढकाल, वानका महासचिव दुर्गा अधिकारी, अलिमियाँ लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ, ठूलाचौर विकास समिति अध्यक्ष तुल्सी दाहाल, नारी प्रतिभाका महासचिव लक्ष्मी थापा, सदस्य ओमकुमारी आचार्यले पनि बोलेका थिए । कार्यक्रममा साहित्यकार गौरी तमुले शिलाजितबाट केही मुक्तक वाचन गरेकी थिइन् ।

कमेन्टहरु
Loading...