दोहोरी गीत प्रतिष्ठान गण्डकी अध्यक्षमा गुरुङ

राजाराम पौडेल÷पोखरा/राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी अञ्चलको चौथो अधिवेशनले शंकर विरही गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । नेतृत्वका अर्का दावेदार घनश्याम रिजालले अन्तिम अवस्थामा नेतृत्व दावी छोडेपछि गुरुङ सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

निर्वाचन हुदाँ गुरुङको पक्षमा बहुमत सदस्यको मत जाने निश्चित देखेपछि उनी पछाडि हटेका थिए । अब हुने केन्द्रिय अधिवेशनमा केन्द्रिय सदस्यमा मनोनयन गर्न पहल गर्ने अग्रजहरुले उधारो आश्वासन दिएपछि उनी नेतृत्व दौडबाट पछाडि हटेका हुन् । कार्ययोजना बनाएर नेतृत्वमा दावेदारी प्रस्तुत गरेका नवनिर्वाचित अध्यक्ष शंकर विरही गुरुङले निर्वाचित भएपछि प्रतिक्रिया दिँदै लोक दोहोरी क्षेत्रमा देखिएको विकृति विसंगतीलाई अन्त्य गर्न पहल गर्ने बताएका छन् ।

शंकर विरही गुरुङ
शंकर विरही गुरुङ

केहि कार्ययोजना अध्यक्षको दावेदारी अन्तिम अवस्थामा छोडेका रिजालको कार्ययोजनासँग मिल्ने भएकोले काम गर्न सहज हुने उनको भनाइ थियो । ‘हाम्रा केहि कार्ययोजना मिल्दाजुल्दा भएकोले काम गर्न सहज हुन्छ’ उनले थपे मेरो कार्ययोजनामा रहेका साठी प्रतिशत कार्यक्रम एक वर्षमा पुरा गर्छु ।’ प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा सिता केसी, प्रथम उपाध्यक्षमा अम्मर धिताल, द्धितिय उपाध्यक्षमा जय कुमार परियार, महासचिवमा सुरेन्द्र गुरुङ, सचिवमा राजन कार्की, कोषाध्यक्षमा विजय केसी र सह कोषाध्यक्षमा मञ्जु वि.क. सर्वसम्मत चयन भएका हुन् ।

यसैगरी कार्यसमिति सदस्यमा युवराज भण्डारी, राजेन्द्र सुवेदी, रामजी पौडेल, प्रदिप त्रिपाठी, होम गुरुङ, चन्द्रा कार्की, निश्चल थापा मगर, धन बहादुर गायक, शंकर पन्त, भोला भण्डारी, कृष्ण भण्डारी, इन्द्र गुरुङ, कल्पना केसी र तारादेवी थापा रहेका छन् । शिव केसी, अर्जुन गैरे, केशव देवकोटा, शिवहरी ढुङ्गाना र निसा पोखरेल सचिवालय सदस्यमा चयन भएका छन् ।
यसअघि प्रतिष्ठान गण्डकीको वरिष्ठ उपाध्यक्ष रहेका नवनिर्वाचित अध्यक्ष गुरुङले अधिवेशनको मिति भन्दा झण्डै दुई महिना अगाडि आफ्नो कार्ययोजना सार्वजनिक गरेका थिए । उनले कलाकार कल्याणकारी कोष अभिवृद्धि गरि ११ लाख ११ हजार १ सय ११ पु¥याउने, गण्डकी अञ्चल भित्रका सबै लोक दोहोरी गायक, गायिका, संकलक, बाध्यबादकहरुको हक हितको लागि काम गर्ने तथा अन्य स्थानबाट पोखरा आएर बसेका सबै कलाकारलाई एकीकृत गर्दै लैजाने योजना बनाएका छन् ।

यसैगरी सामुदायिक र निजि बिद्यालयहरुमा लोकगीत, लोकदोहोरी, लोक संस्कृति सम्बन्धि प्रशिक्षण कार्यक्रम, प्रतियोगिता संचालन गर्दै बिद्यार्थीहरुमा लोकगीत, लोकदोहोरी, लोक संस्कृति सम्बन्धि जानकारी अभियान संचालन गर्ने र लोक दोहोरी गायक, गायिका, संकलक, बाध्यबादकहरुलाई विभिन्न बिद्यालयहरुमा लोकगीत, लोकदोहोरी, लोक संस्कृति शिक्षक स्थापित गर्न पहल गर्दै सामाजिक कार्यहरुलाई निरन्तरता दिने योजनामा उनी छन् ।

नर बहादुर परियार स्मृति कलाकारिता पुरस्कार र सागर सुबेदी स्मृति पत्रकारिता पुरस्कारलाई ब्यबस्थित गर्नको लागि छुट्टाछुट्टै कोषको स्थापना गर्ने, लोक दोहोरी कलाकार बचत तथा ऋण सहकारी स्थापना गर्ने, लोकगीत, लोकदोहोरी, लोक संस्कृतिको विकास र सम्बर्धनको लागि सम्बधित सबै पक्षहरु संग सरसल्लाह गर्दै त्यस सम्बन्धि विभिन्न अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गर्दै अगाडि बढ्ने र प्रतिष्ठान केन्द्रसंग सहकार्य गर्दै लोक दोहोरी भित्रका बिकृति र बिसंगतिहरुलाई हटाउन पहल गर्ने महत्वकाक्षी योजना उनको छ ।

तीर्थसागर सुबेदी स्मृती पत्रकारीता पुरस्कारबाट मनोज घर्तिमगर सम्मानीत
तीर्थसागर सुबेदी स्मृती पत्रकारीता पुरस्कारबाट मनोज घर्तिमगर सम्मानीत

मनकामना–४, आरुखर्क स्याङजामा जन्मिएका गुरुङको औपचारिक यात्रा वि.स.२०६० सालमा ‘लाग्न थाल्यो आश’ एल्बम बजारमा ल्याएर भएको थियो । पहिलो एल्बम बजारमा आएको सातवर्षपछि गत २०६७ सालमा दोस्रो एल्बम ‘खोली तरौला’ बजारमा निकालेका थिए । त्यसपछाडी लोक दोहोरी एल्बम ‘फौनै आएन’, ‘सालैजो’ र ‘आउदैन र झल्को’ लगायतका एल्बम बजारमा ल्याइसकेका छन् । वि.स २०३३ सालमा मनकामना–४, आरुखर्क स्याङजामा बुबा पिताम्बर तथा आमा हरिकला गुरुङको पहिलो सन्तानको रुपमा उनको जन्म भएको हो । हाल गुरुङ पोखराको माटेपानीमा बस्छन् ।

उनले केही गुरुङ भाषाका गीतमा स्वर दिएका छन् । विशेषगरी लोक दोहोरी प्रतियोगीतामा भाग लिने गरेका गुरुङ लुम्बिनी वाणिज्य क्याम्पस बुटबलले आयोजना गरेको अन्तरक्याम्पसस्तरीय लोक दोहोरी प्रतियोगिता, रेयुकाई नेपाल बुटबल शाखा, राष्ट्रिय भाषा–भाषी गीत सम्मेलन गोर्खा, राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता बुटबल, राष्ट्रिय लोक दोहोरी प्रतियोगिता बाग्लुङ लगायतका थुप्रै प्रतियोगितामा पुरस्कृत भइसकेका छन् । वि.स. २०५७ सालपछि भने प्रतियोगितामा भाग लिन उनले छोडे । पेशाको रुपमा शिक्षक समेत रहेका गुरुङले व्यवस्थापन संकायमा स्नाकोत्तर गरेका छन् । उनी हाम्रो दोहोरी साँझ पोखराको सञ्चालक समेत हुन् । प्रतिष्ठान स्याङ्जा जिल्ला समितिको साधारण सदस्यबाट यात्रा सुरु गर्दै प्रतिष्ठान गण्डकीको उपाध्यक्षको जिम्मेवारी कुशलतापुर्वक समालेका थिए । उनले आफ्नो अफिसियल वेभसाइट भर्खरै सञ्चालमा ल्याएका छन् ।

यता राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी अञ्चल कार्यसमितिको चौथो अधिवेशनमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । अधिवेशनको अवसरमा गीत संगीतका क्षेत्रमा सहयोग गर्ने पत्रकार र कलाकारहरुलाई सम्मान गरिएको हो । यस वर्ष अग्रज स्रष्टा सम्मानबाट प्रतिष्ठानका पूर्व अध्यक्ष कल्याकारी कोषका अध्यक्ष दुर्गा रायमाझी, स्व. नर बहादुर परियार स्मृति कलाकारिता सम्मान गोरखाका रामचन्द्र अर्याललाई प्रदान गरिएको थियो । यस्तै स्व.तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार यस वर्ष शुक्रबार साप्ताहिकका पत्रकार मनोज घर्ती मगरले पाएका छन् ।

सबैको राशी पाँच हजार पाँच सय ५५ र सम्मान पत्र छ । स्व. टेकबहादुर केसी क्रियाशील कलाकारिता पुरस्कारबाट मीना गुरुङ र कलाकार कल्याणकारी कोषबाट नव प्रतिभा राजु केसीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि नगद तीन हजार तिन सय ३३ र सम्मान पत्र छ । त्यसैगरी उत्कृष्ट शाखामा कास्की, उत्कृष्ट संरक्षक सल्लाहकारमा भीम भट्टराई, उत्कृष्ट सदस्यहरुमध्यबाट सीता केसी र सुरेन्द्र गुरुङ सम्मानित भएका छन् । कार्यक्रममा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष चन्द्र शर्माले लोक दोहोरी क्षेत्र राज्यले उपेक्षा गरेको बताए । यो क्षेत्रमा ‘सिस्टम’ नबस्दा समस्या भने भएको उनको भनाइ थियो । कार्यक्रममा लोकगायिक एवं प्राज्ञ हरिदेवी कोइरालाले लोकगीतमा देखिएका विकृति र विसंगतिलाई हटाउनु पर्नेमा जोड दिइन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका गण्डकी अञ्चल कार्यसमिति अध्यक्ष जीवन दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष शंकर विरही गुरुङले स्वागत र महासचिव घनश्याम रिजालले कार्यक्रम सञ्चालन गरेका थिए । अधिवेशनको उद्घाटन सत्रमा लोक दोहोरी कलाकारले अनावश्यक भाषणमा बढि समय खर्च गरे । जसले गर्दा उद्घाटन सत्रको कार्यक्रम लम्बिन पुग्यो । बन्द सत्रमा सांगठनिक प्रतिवेदन र आर्थीक प्रतिवेदन पेश हुना साथ पारित भए । भावी कार्यक्रम र अहिलेसम्म भए गरेका कार्यक्रमको समिक्षा गर्न तर्फ कोहि कसैले साहस भने गरेनन् ।

कमेन्टहरु
Loading...