बिहीबारदेखि एसइई परीक्षा, गणित बाहेकका विषयमा प्रयोगात्मक

भक्तपुर, ७ चैत /परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बिहीबार बिहान ८ बजेदेखि सन्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसइईको तयारी पूरा गरेको छ । देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले जानकारी दिए ।कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको एसइई परीक्षाका लागि आवश्यक कर्मचारी र सुरक्षाकर्मी आजै परीक्षा केन्द्रमा पुगेर तयारी गरेको उनले जानकारी दिए ।

परीक्षामा चार लाख ८५ हजार ५ सय ८६ परीक्षार्थीले आवेदन दिएका छन् र एक हजार ९ सय ५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।परीक्षामा प्रतिकेन्द्र एक केन्द्राध्यक्ष, दुई हजार ४ सय ५० सहायक केन्द्राध्यक्ष, २० हजार ३ सय ४० निरीक्षक, १० हजार ६ सय ७६ सहयोगी र २९ हजार ३ सय ४० सुरक्षाकर्मी गरी ६४ हजार ७ सय ६२ जनशक्ति खटिएका छन् ।साधारण धारतर्फको परीक्षा चैत १७ गतेसम्म र प्राविधिक धारतर्फको परीक्षा चैत २० गतेसम्म सन्चालन हुनेछ ।

यस वर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सन्चालन हुँदैछ, जस अनुसार अनिवार्य विषयतर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ ।अनुत्तीर्ण परीक्षार्थी र अक्षरांकन पद्दतिको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सोभन्दा तल्लो ग्रेड प्राप्त भइ ग्रेडवृद्धि परीक्षामा समेत ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत एक्जाम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिने व्यवस्था छ ।

कमेन्टहरु
Loading...