फोटो पत्रकार लामालाई मातृशोक

पोखरा, ८ असार/ नेपाल फोटो पत्रकार महासंघ, कास्कीका पूर्व अध्यक्ष ओम लामालाई मातृशोक परेको छ । उनका ममतामयी माता रत्नमाया लामाको ६३ वर्षको उमेरमा असार ६ गते आफ्नै निवास पोखरा–९, नयाँबजारमा निधन भएको हो ।

स्वर्गीय रत्नमायाको जन्म काभ्रेपलाञ्चोक नारायणस्थान गाउँपालिका–५, ठूलोगिम्दीमा २०१३ साल असार २० गते भएको हो । डेढ वर्षदेखि बिरामी उनको उपचार हुँदै आएको थियो । स्वर्गीय रत्नमायाको शुक्रबार बौद्ध अर्घौ सदन, रामघाटमा अन्त्येष्टि भएको परिवारजनले जनाएको छ ।

उनका श्रीमान रुप लामा घिसिङ, ओमसहित ३ भाइ छोरा र ३ बहिनी छोरी छन् । यसैबीच, नेपाल फोटो पत्रकार महासंघ कास्कीले शुक्रबार शोक विज्ञप्ति जारी गरी पत्रकार ओम लामालाई परेको मातृशोकप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

महासंघ कास्कीका अध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य ईन्द्रप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा स्वर्गीय माताको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भनी हार्दिक समवेदना ब्यक्त गरिएको छ ।

कमेन्टहरु
Loading...