राष्ट्रपति रनिङशिल्डको उपाधी कास्कीलाई, आठौंका पदक विजेता खेलाडी सम्मानीत

पोखरा, २७ असार/ गण्डकी प्रदेश राष्ट्रपति रनिङशिल्डको उपाधि कास्की जिल्लाले उचालेको छ । कास्कीले १९ स्वर्णसहित कास्कीले उपाधि जितेको हो । कास्कीले एथलेटिक्स तर्फ १२ स्वर्ण, ७ रजत र २ कास्य पदक जित्दै टिम च्याम्पियन बनेको हो ।

नवलपुरले ५ स्वर्ण, बाग्लुङले ४ स्वर्ण, गोरखाले ३ स्वर्ण र म्याग्दीले २ स्वर्ण पदक जितेको छ । कास्कीले महिला भलिबल तर्फ पनि स्वर्ण जितेको थियो । कास्कीले उसु तर्फ दुई स्वर्ण, एक रजत र दुई कास्य पदक जितेको थियो । कराँते तर्फ दुई स्वर्ण, तीन रजत र तीन कास्य पदक जितेको थियो ।

तेक्वान्दो तर्फ एक स्वर्ण, दुई रजत र तीन कास्य पदक जितेको हो । कबड्डी तर्फको प्रतिस्पर्धामा पुरुष म्याग्दी र महिला तर्फ कास्कीले स्वर्ण पदक जितेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगितामा प्रदेशका ११ जिल्लाकै खेलाडीले विभिन्न इभेण्टमा प्रतिस्पर्धा गरेका थिए । पुरुष भलिबलमा स्याङजाले म्याग्दीलाई पराजित गर्दै स्वर्ण पदक जित्यो । महिला तर्फ भने कास्कीले स्वर्ण पदक जितेको थियो ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, कराँते, तेक्वान्दो र उसु तर्फ विभिन्न इभेण्टमा खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । विजेता जिल्लाले नगद २० हजार, दोस्रो स्थानमा रहने विद्यालयलाई १५ हजार र तेस्रो हुने विद्यालयलाई नगद १० हजार रुपैयाँसहित ट्रफी पदक तथा प्रमाणपत्र प्रदान गरिएको छ । खेलाडीहरुले ४८ स्वर्ण, ४८ रजत र ६० कास्यका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताबाट विभिन्न खेलबाट खेलाडी छनोट गरिएको छ । छनोट भएका खेलाडीहरुले काठमाडौंमा प्रतिस्पर्धा गर्ने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराले जनाएको छ । विजेता खेलाडीहरुलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव रमेशकुमार सिलवाल, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ लगायतले शिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

सोही अवसरमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई सामूहिक रुपमा गण्डकी प्रदेशले नगदसहित सम्मान गरेका छ । सम्मान राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरे ।

गण्डकी प्रदेश सरकारले गण्डकीबाट प्रतिनिधित्व गरेका २०४ जना खेलाडीलाई नगदसहित सम्मान गरिएको थियो । नेपालगन्जयमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न ३५ खेलबाट पदक विजेता खेलाडीले र्आचरी सहित १८ स्वर्ण, २५ रजत र ५० कास्य पदक जित्दै पाँचौ स्थानमा रहेर नवौं सस्करण गण्डकी प्रदेशमा आयोजना गर्ने जिम्मेवारी सहित झण्डा लिएर आएको थियो ।

कमेन्टहरु
Loading...