खानेपानीको पाईप विस्तार गर्न बिच सडकमा रेखांकन, सडक बिचबिचमा फोड्ने

पोखरा, १ कात्तिक/ सडकको कालोपत्रे पीचमै रातो घेरो लगाईएको छ । राजमार्गदेखि भित्री सडक सञ्जालमा समेत रातो घेरो छ । घेरो अनुसार नै खानेपानीको पाईप विस्तार गरिने छ । खानेपानीको पाईप विस्तारले फेरी एक पटक कालोपत्रे पीच भत्किने छ ।

नेपाल खानेपानी संस्थानको पाईप विछ्याउने योजना भने जापानीज सहयोगी संस्था जाईकाको आर्थिक सहयोगमा गरिने छ । योजना तीन वर्षभित्रमा सक्ने गरी काम गरिदैं छ ।

खानेपानीको समस्या विकराल नै छ । नियमित पानीको सहज आपूर्ति छैन् । आपूर्ति केही दिन विराएर हुने गरेको छ । त्यसबाटै गुजारा चलाउनुपर्ने बाध्यता छ । जाईकाको खानेपानी योजना पुरा भएपछि खानेपानीको समस्या समाधान मात्रै नभई शुद्ध खानेपानी आपूर्ति हुने विश्वास छ । जाईकाको सहयोगमा खानेपानीको मुहान मर्दीखोलादेखि बजार क्षेत्रका विभिन्न ठाँउमा पाईप लाईन विस्तार गरिने छ । विस्तार गरिने पाईप लाईन अधिकांश कालोपत्रे सडकमै पर्छ ।

जाईकाको सहयोगमा खानेपानीको मुख्य वितरण लाईन, सर्भिस लाईन विस्तार गरिने नेपाल खानेपानी संस्थानका प्रमुख निरन महर्जनले सुनाए । उनका अनुसार ११० किलोमिटर पाईप विस्तार गरिने छ । ‘१३ किलोमिटर ट्रान्समिसन लाईन र ९ किलोमिटर मुख्य वितरण लाईन विस्तार गर्ने योजना छ ।’ उनले भने–‘तीन वर्षभित्रमा पुरा गर्ने अठोटसहित काम शुरु भईसकेको छ ।’ उनले लक्षित प्रगति अनुसार ८ प्रतिशतको काम भईसकेको छ । ‘हामीले ९.१७ प्रतिशत काम गर्ने योजना हो । तर ८ प्रतिशत पुरा गर्यौं ।’ उनको भनाई थियो ।

खानेपानीको मुहान मर्दी खोलाको ड्याम भन्दा केही तल ग्रिड च्याम्बर निर्माण गरिने छ । पुरुन्चौरमा प्रशोधन केन्द्र निर्माण गरिने छ । त्यसपछि पोखरा–५ स्थित पस्र्याङ, पोखरा १५ कोलपाटन र पोखरा–११ फुलबारीमा पानी ट्यांकी निर्माण गरिने योजना रहेको उनले बताए । निर्माण गरिने एउटा ट्यांकी २० लाख लिटर क्षमताको हुने छ ।

‘पाईप १९ वटा वडाका कालोपत्रे सडकको पीच खनेर विछ्याउने छ । त्यसको लागि रेखांकन गर्ने काम भईसकेको छ ।’ उनले भने–‘सडक किनारको फुटपाथमा सर्भिस लाईन सेन्टर(च्याम्बर) बनाईने छ ।’ मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुंगा लगायतका ठाँउहरुमा फुटपाथमा सर्भिस लाईनको लागि काम गरिने उनले बताए ।

गत वर्ष खानेपानी संस्थानले सृजनाचोकसम्म पाईप विस्तार गरेको थियो । यो वर्ष पृथ्वीचोकसम्म पाईप विस्तार गर्ने योजना छ । त्यसको लागि आवश्यक टेण्डर आह्वान गरिसकेको छ । १० इन्चको पाईप विस्तार गर्ने संस्थानले जनाएको छ । ‘खानेपानी ५० औं वर्षको योजना हो । त्यसैले सडककै पीचमा पाईप विछ्याउने काम हुने छ ।’ उनले भने । पाईप विस्तारको क्रममा राजमार्ग समेत खन्नुपर्ने अवस्था छ ।

पस्र्याङमा पाईप विस्तार गर्दा पोखरा–बाग्लुङ राजमार्ग सडक खण्डमा पर्छ । पोखरा–१५ कोलपाटन तर्फ विस्तार गर्दा पृथ्वीराजमार्ग सडक खण्ड खनेर लैजानुपर्ने बाध्यता रहेको संस्थानले जनाएको छ । ‘६ इन्चदेखि २० इन्चसम्मको पाईप विस्तार गर्ने छौं ।’ उनले भने–‘मणिपाल क्षेत्रमा पाईप विस्तारको काम केही टुग्याईसकिएको छ ।’ ५ अर्ब लागतको यो खानेपानीको योजना सन २०२१को अन्त्यसम्ममा टुग्याउने लक्ष्य छ । पोखरामा दैनिक साढे चारकरोड लिटर पानीको माग छ ।

खानेपानीको पाईप विस्तार गर्न बिच सडकमा रेखांकन, सडक बिचबिचमा फोड्ने
खानेपानीको पाईप विस्तार गर्न बिच सडकमा रेखांकन, सडक बिचबिचमा फोड्ने

योजनाले प्रशोधन हुने बताउँदै उनले पानीको मात्रा बढाउने योजना समेत रहेको उल्लेख गरे । ‘क्षेत्र हेरेर दैनिक ४ देखि ८ घण्टा पानी आपूर्ति हुने गरेको छ ।’ उनको भनाई थियो–‘केही ठाँउमा भने दिन विराएर आपूर्ति हुदैं आएको छ ।’ संस्थानका प्रमुख महर्जनले पोखरा महानगरपालिकाको ३३ वटैवडामा पाईपको उचित व्यवस्थापन गरेर खानेपानी व्यवस्थापनको जिम्मेवारी संस्थानले नै गर्ने जनाए ।

प्रमुख महर्जनले हिउँदमा समेत पोखरामा १० करोड लिटर पानीको आपूर्तिको लागि अध्ययन तयारी गरिएको बताए । ‘हर्पन खोला र विजयपुर खोलाबाट १/१ करोड लिटर पानीको आपूर्ति गर्न सकिने विषयमा अध्ययन गरिदैं छ ।’ उनले भने–‘अध्ययनपछिको रिपोर्ट अनुसार काम गर्ने तयारी छ ।’

पोखरा खानेपानी संस्थानमा अहिले झण्डै ४० हजारको हाराहारीमा धारा जडान गरिएको तथ्यांक छ । मर्दीखोला, भोटीखोला, कालीमुढा र बालधाराबाट पानी वितरण हुदैं आएको छ । त्यसै गरी ५ वटा बोरिङ(फुलबारी, पार्दी, हिमालीटोल, चाउथे र माटेपानी)को पानी समेत पाईप मार्फत विरण हुदैं आएको संस्थानले जनाएको छ ।

कमेन्टहरु
Loading...