पोखरामा टाटाको नयाँ शो रुम खुल्यो

पोखरा, १० असार/नेपालमा सर्वाधीक सवारी साधन विक्रि वितरण गर्दै आएको टाटा कम्पनीले पोखरामा अर्को शो रुम खुलेको छ । पोखरा ५ प्रस्याङमा रहेको जगदम्बा अटोमार्टले टाटा कम्पनीका गाडीहरुको नयाँ शो रुम शुक्रबार देखि सञ्चालनमा ल्याएको हो ।

अटोमार्टको सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले उद्घाटन गरे । श्रेष्ठले नेपालको सम्पूर्ण अटोबजारमा टाटा कम्पनीका सवारीले ९० प्रतिशत हिस्सा ओगटेको दाबी गरे । उनले हाल सिप्रदीको नेपालभर प्रतिमहिना १ हजार ५ सय भन्दा बढी सवारी विक्रि हुने गरेको बताए । नेपालका लागि टाटा कम्पनीको आधिकारिक बिक्रेता सिप्रदी प्रालिको पोखरामा डिलरका रुपमा शो रुम सञ्चालनमा ल्याएको हो ।

अटो मार्टमा टाटा कम्पनीका ५० भन्दा बढी मोडलका गाडीहरु बिक्रीका लागि राखिएको अटोमार्टका कार्यकारी अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए । टाटा कम्पनीका विभिन्न मोडलका पिकअप भ्यान, बस, ठूला ट्रक र टिप्पर अटोमार्टमा राखिएका छन् । अटोमार्टले ग्राहकको सुविधाका लागि चौविसै घण्टा सेवा दिने उनले दावी गरे । अधिकारीले सिप्रदी प्रालिले दिने छुट तथा सेवा सुविधा अटोमार्टले पनि दिने जानकारी दिए । उनले अटोमार्टले सेवालाई चुस्त बनाउन चाँडै वर्कसप सञ्चालन गर्ने बताए ।

शुभारम्भको अवसरमा टाटाका गाडीहरुको खरिदमा छुट सहितको उपहार योजना ल्याएको बताउदै अधिकारीले सवारी खरिदमा २५ हजारदेखी ३० हजारसम्म छुट दिइएको उनको भनाई छ । उनले एउटा सवारी खरिदमा सामसुङको जे सेभेन मोबाइल उपहार प्रदान गरिने जानकारी दिए । अटोमार्टमा ११ लाखदेखी ३० लाख सम्मका सवारी साधन रहेको छ ।

कमेन्टहरु
Loading...