पोखरा–मुग्लिन सडक चार लेनको बन्ने

पोखरा, ६ असोज /अहिले दुई लेनमा रहेको पोखरा–मुग्लिन सडक चार लेनमा विस्तार हुने भएको छ । राष्ट्रिय राजमार्गहरूको स्तरोन्नति र विस्तार गर्ने क्रममा यो राजमार्ग सडक विस्तार गर्न लागिएको हो ।

मुलुकको पर्यटकीय ‘हब’का रूपमा विकास भइरहेको पोखरालाई राजधानीसँग जोड्ने मुग्लिन–पोखरा सडक चार लेनको निर्माण गर्न अध्ययन प्रक्रिया अगाडि बढिसकेको जानकारी सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले दिए ।

सो सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको अन्तिम चरणमा पुगेको जानकारी उनले दिए । उनका अनुसार सो सडकको विस्तार दुई चरणमा गरिने छ ।

पहिलो चरणमा आँबुखैरेनीदेखि पोखरासम्म र दोस्रो चरणमा मुग्लिन–आँबुखैरेनी खण्ड विस्तार गरिने छ । सडक निर्माणका लागि ठेक्का प्रक्रियाको तयारी भइरहेको छ । सो सडकको डीपीआर कोरियन इन्जिनियरिङ कन्सल्ट्यान्टले तयार पारिरहेको छ ।

एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा सडक विस्तार गर्न लागिएको जानकारी प्रवक्ता सापकोटाले दिए । आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले समाचार लेखेका छन् ।

कमेन्टहरु
Loading...