पोखरामा ह्याण्डबल प्रशिक्षण, शसस्त्र प्रहरीका खेलाडी पोखरा आउँदै

पोखरा, २१ साउन/ १३ औं दशिण एशियाली खेलकुद प्रतियोगिताको तयारीको लागि पोखरामा महिला तथा पुरुष राष्ट्रिय टिमको प्रशिक्षण शुरु गरिएको छ । पोखरा रंगशालामा रहेको एउटै ह्याण्डबल कोर्टमा पुरुष र महिला खेलाडीले पालैपाले प्रशिक्षण शुरु गरेका छन् । कोर्ट अभावले पुरुष टिमको प्रशिक्षण सकिएपछि महिला टिमको प्रशिक्षण शुरु गर्ने गरिएको छ ।

ह्याण्डबलमा प्रशिक्षणमा रहेका सबै खेलाडीको उपस्थिति भने भईसकेको छैन् । विभागीय टोली शसस्त्र प्रहरीको महिला तथा पुरुष खेलाडी प्रशिक्षणको लागि पोखरा आईपुगेका छैनन् ।उनीहर आउने क्रममा छन् ।

शसस्त्र प्रहरीबाट ७ पुरुष र ५ महिला खेलाडी प्रशिक्षणमा सहभागि हुन आउन बाँकी छ । नेपाली सेना र नेपाल पुलिस क्लबका खेलाडीहरु भने प्रशिक्षणको लागि आईसकेका छन् । पुरुष तर्फ २८ र महिला तर्फ २८ खेलाडीले पोखराको ह्याण्डबल कोर्टमा प्रशिक्षण आईतबारदेखि शुरु गरिएको हो ।

पुरुष तर्फ नेपाली सेनाका ५, कर्णाली प्रदेशबाट १, सुदुरपश्चिमबाट १, गण्डकी प्रदेशबाट ५, प्रदेश नं १ बाट ३, प्रदेश नं ३ बाट २ र प्रदेश नं ५ बाट १ र नेपाल प्रहरीबाट ३ जना खेलाडी प्रशिक्षणमा सहभागि छन् । महिला तर्फ नेपाली सेनाबाट ९, कर्णाली प्रदेशबाट १,गण्डकी प्रदेशबाट ४, प्रदेश नं १ बाट २, शसस्त्र प्रहरीबाट ५ र नेपाल प्रहरीबाट ७ जना खेलाडी सहभागि छन् ।

पुरुषले विहान ६ देखि ९ बजे र साँझ २.३० देखि ४.३० बजेसम्म प्रशिक्षण गर्ने छन् । महिलाहरुले बिहान ९ देखि ११ बजेसम्म र साँझ ४.३० देखि ६.३० सम्म प्रशिक्षण गर्ने छन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता गण्डकी प्रदेशबाट विशाल बस्नेतसहित दिनेश श्रेष्ठ, विशाल नेपाली, पवन छन्त्याल र प्रविन गुरुङ प्रशिक्षणमा छन् ।

महिला तर्फ भने गण्डकी प्रदेशबाट योगिता गुरुङ, माया थापा, दिप्ती गुरुङ र विमला भुजेलको सहभागिता रहेको छ । पुरुष टिमलाई प्रशिक्षकद्वय अरुणलाल कर्ण र टेकबहादुर विश्वकर्माले प्रशिक्षण दिएका छन् भने महिला तर्फ कृष्ण शाक्य र बृन्दा थापाको प्रशिक्षकत्वमा खेलाडीहरुले प्रशिक्षण लिईरहेका छन् ।

दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत ह्याण्डबल पोखरामा आयोजना गर्ने निर्णय गरिएको छ । पोखरा रंगशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा खेलाईने छ । त्यसको लागि कभर्ड हलमा फ्लोरिङ, साउण्ड सिष्टम र सिट राख्न राष्ट्रिय खेलकुद परिषदले ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले फाष्ट ट्रयाकमै काम गर्ने गरी फ्लोरिङ, साउण्ड र सिट व्यवस्थापन गर्नुपर्नेमा जोड दिदैं आएका छन् । त्यही हलमा ह्याण्डबलसँगै भलिबल प्रतियोगिता पनि खेलाईने छ । सागकै पुर्वाधारको लागि परिषदले ह्याण्डबलको लागि पनि ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

विनियोजित बजेटबाट ह्याण्डबल एकेडेमीमा फ्लोरिङ गरेर पाहुना टोलीलाई प्रशिक्षणस्थलको रुपमा उपलब्ध गराउन सकिने विश्वास नेपाल ह्याण्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङ सुनाउँछन् । उनका अनुसार ह्याण्डबल एकेडेमी, निर्माणकै चरणमा रहेको व्याडमिन्टन कभर्ड हल र सम्भव भएसम्म भलिबल प्रशिक्षण केन्द्रलाई समेत ह्याण्डबलको प्रशिक्षणको लागि उपयोग गर्न सकिने छ । तीनवटा ठाँउ भएको अवस्थामा पाहुना टोलीलाई समय अनुसार प्रशिक्षणस्थल उपलब्ध गराउन सकिने अध्यक्ष गुरुङको भनाई थियो ।

कमेन्टहरु
Loading...