लेकसाइडका भित्री बाटोलाई नम्बरिङ र नाम राखीने

पोखरा, ११ कात्तिक / लेकसाइडका भित्री बाटोलाई नामाकरण सहित नम्बरिङ गरिने भएको छ । अहिले होटल र रेस्टुरेन्टका नाममा रहेका ती गल्लीभित्र प्रवेश गर्दा पाहुना झुक्किने गरेकोले नम्बर सहित नामाकरणको तयारी भएको हो । अहिले कतिपय गल्ली नामाकरण भएपनि केहीको छैन ।

पोखरा पर्यटन परिषद (पिटिसी)ले पोखरा महानगरपालिका–६ वडासँग सहकार्य गर्र्दै तिहारभित्रै ती सबै गल्लीलाई भिन्दाभिन्दै नम्बर दिने निर्णय गरेको परिषद अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए । उनका अनुसार केदारेश्वर मन्दिर अघिल्तिरको गल्लीलाई पहिलो मान्दै खहरेसम्मका गल्लीलाई भिन्दाभिन्दै नम्बर दिइनेछ ।

‘अहिले होटल र रेस्टुरेन्टका नाममा ती गल्लीको पहिचान गरिएको छ । झुक्किने गरि एकैखाले नामका होटल, रेस्टुरेन्ट रहेकोले पाहुनालाई पहिचानमा समस्या भएको छ,’उनले भने, ‘अब पहिलो गल्लीलाई एकनम्बर मानेर क्रमैसंग नम्बरिङ गरिनेछ ।’ पोखरेलका अनुसार झन्डै ३० वटा गल्ली अहिले त्यस क्षेत्रमा छन् । ती सबै गल्लीलाई फरक नम्बर र नामले पहिचान दिलाउने उनले बताए ।

‘अहिले नम्बरिङ नहुँदा कतिपय होटल कुन गल्लीमा छन् भन्ने थाहा पाउन पनि मुस्किल छ,’ उनले भने, ‘गल्ली नम्बर अनुसार होटलले पनि पहिचान दिलाउँदा पर्यटकलाई आउजाउमा सहज हुनेछ ।’ उनले गल्लीको नाम र नम्बरलाई रातीमा समेत देखिने गरि मुल सडकमा राखिने बताए ।
पोखरा महानगरपालिका–६ का अध्यक्ष जगत पहारीले यसअघि पनि यस्तो प्रयास थालेकामा अब परिषद्सँग मिलेर सबै गल्लीलाई नामाकरण गर्दै नम्बरले चिनाउने बताए । ‘कतिपय होटल र रेस्टुरेन्टका नाम करिब मिल्दा छन् । त्यसले गर्दा पनि पर्यटक झुक्किएका छन्,’ उनले भने, ‘यसले पर्यटकको आउजाउमा सहज हुन्छ ।’

परिषदले आइतबार स्थानीय तहका पदाधिकारी सहित प्रहरी, ट्राफिक प्रहरीसँग पनि छलफल गर्दै लेकसाइडको सवारी आवागमनलाई व्यवस्थित बनाउन पहल गर्ने बताएको छ् । होटलमा पाहुना ल्याउँदा र लैजाँदा ठुला आकारका बस लामो समय रोकिँदा त्यसले सवारी आवागमनमा अवरोध पुगेको भन्दै पर्यटक चढाउन र ओराल्नका लागि ३ देखि ५ मिनेट मात्र समय दिने भन्ने पनि निर्णय गरेको छ । ट्राफिक व्यवस्थापनका लागि पनि लामो समय ठुला आकारका सवारी रोक्न नहुने बैदाम चौकीका डिएसपी नवीन कार्कीले बताए ।

ट्राफिक प्रहरीका निरिक्षक ऐनबहादुर मल्लले

बिहान र बेलुकी होटल र घरसम्म यात्रु चढाउन आउने ठुला आकारका बसलाई पनि यात्रु बटुल्ने गरि लेकसाइड प्रवेश गर्न नदिने गरि कडाई गर्ने बताए । ‘कुनैपनि ठाउँका यात्रुले बुकिङ गरेको हुनाले आजको भोलि नै यसमा कडाई गर्न सकिन्न । तर, एकसातापछि लागु हुनेगरि नयाँ नियम लगाउन सकिन्छ,’ उनले भने,‘अब यात्रु खोज्दै र बटुल्दै ठुला आकारका बस लेकसाइड प्रवेश गर्न पाउनेछैनन ।’ ती बसका यात्रुलाई चढाउने र ओराल्ने ठाउँ सम्बन्धित बस कम्पनिले गर्नुपर्ने उनले बताए । ‘घरमै बस पुग्ने होईन, यात्रु बस चढनका लागि केही दुरीसम्म जानुपर्ने हुनसक्छ,’ उनले भने ।

कमेन्टहरु
Loading...