पोखरामा एक वर्षमा तीन लाख विदेशी पर्यटक

सागर राज तिमिल्सिना
पोखरा, १२ साउन /पोखरा र गण्डकी प्रदेशका पर्यटकीय स्थलमा एक वर्षमा करिब तीन लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७५/०७६ मा पोखरा र गण्डकी प्रदेशका पर्यटकीय स्थलमा २ लाख ९८ हजार ९ सय ७५ जना विदेशी पर्यटक भ्रमण गरेको छन् ।

गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत साउन देखी संकलन शुरु गरेको थियो । त्यस अवधिमा सबै भन्दा धेरै छिमेकी देश भारतबाट १ लाख २० हजार ९ सय ३८ जना पर्यटक आएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सुचना अधिकारी शिव परियारले जानकारी दिए । उनले अन्य देशबाट १ लाख ७८ हजार ३७ जना पर्यटक आएको बताए ।
गण्डकी प्रदेश प्रबेश गर्ने नाका तनहुँको आबुखैरेनी चेकपोष्ट, स्याङजाको गल्याङ चेकपोष्टमा प्रहरीको सहयोग र पोखरा विमानस्थलबाट तथ्याङक संकलन गरेको उनले बताए । पोखरामा सबैभन्दा धेरै पर्यटक कात्तिक महिनामा ३८ हजार ५ सय ७५ जना आएका छन् । यस महिनामा १२ हजार ४ सय ९५ भारतीय पर्यटक र अन्य मुलुकका पर्यटक २६ हजार ८० जना आएका थिए ।

त्यसपछि धेरै पर्यटक मंसिर महिनामा ३७ हजार १ सय ९ जना पर्यटक आएका छन् । मंसिर महिनामा १७ हजार ५ सय २५ जना भारतीय पर्यटक र अन्य मुलुकका पर्यटक १९ हजार ५ सय ८४ जना आएका थिए । यसैगरी असोज महिनामा ३१ हजार १ सय ४४ जना पर्यटक आएकोमा १३ हजार ६ सय ६ जना भारतीय र १७ हजार ५ सय ३८ जना अन्य मुलुकका पर्यटक आउको परियारले बताए ।

पोखरामा सबैभन्दा कम १२ हजार ६ सय २ जना पर्यटक असार महिनामा आएका छन् । यस महिनामा भारतीय पर्यटक ६ हजार ३ सय १४ र अन्य मुलुलकका पर्यटकको संख्या ६ हजार २ सय ८८ रहेको छ । गण्डकी प्रदेशको नवलपुर र वरपरका पर्यटकीय क्षेत्रमा आउने पर्यटको भने तथ्याङ नराखेको उनले बताए । गण्डकी प्रदेशमा मुख्य गरि राउण्ड अन्नपूर्ण, पोखरा, मुक्तिनाथ, तिलिचो ताल, तातोपानी कुण्ड, हिमाल, अन्नपुर्ण बेसक्याम्प लगाएतका ठाउँमा भ्रमणका लागि पर्यटकहरु आउने गर्दछन् ।

कमेन्टहरु
Loading...