नेपालगञ्ज र वर्दियामा नाट्टाको पोखरा प्रबद्र्धन

पोखरा २५ फागुन / आन्तरिक पर्यटन प्रबद्र्धनको लागि मध्य र सुदुरपश्चिमको भ्रमणमा निस्किएको नाट्टा पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर पोखराको टोलीले मध्यपश्चिमको नेपालगञ्ज र वर्दियामा अन्तरक्रिया सम्पन्न गरेको छ । होटल एसोसिएसन नेपालगञ्जसँगको सहकार्यमा भएको अन्तरक्रियामा सहभागिले पोखरा र नेपालगञ्जलाई ब्यवसायीक रुपमा जोडेर पर्यटन प्रबद्र्धन गर्न सकिने बताए ।

नेपालगञ्ज र वर्दियामा नाट्टाको पोखरा प्रबद्र्धन
नेपालगञ्ज र वर्दियामा नाट्टाको पोखरा प्रबद्र्धन

हवाई र स्थल मार्गबाट सहज आवतजावतको ब्यवस्था मिलाउन उनिहरुले सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् । पोखरा नेपालगञ्ज सिधा हवाई सेवा भएमा पोखरा आएका पर्यटक नेपालगञ्ज पठाउन र नेपालगञ्ज सम्म पुगेका पर्यटन पोखरा भित्र्याउन सहयोग पुग्ने उनिहरुको विश्वास छ । नेपालगञ्ज र आसपासको क्षेत्रमा थुप्रै पर्यटकिय क्षेत्र भएपनि त्यसको प्रबद्र्धन गर्न नसकिएको उनिहरुले स्विकारे । वाँकेमा स्टार होटल सहित पर्यटकलाई लक्षित गरी तीन वटा होमस्टे समेत सञ्चालन गरिएको होटल एसोसिएसन नेपालगञ्जका अध्यक्ष निम बहादुर थापाले बताए ।

‘नेपालगञ्ज र आसपासको क्षेत्रमा पर्यटकिय संभावना प्रसस्त छ तर पर्यटक तान्न सकिएको छैन ’ उनले भने । एक दिन नेपालगञ्ज वस्न चाहनेलाई पनि भुल्ने ठाँउ वनाउन नसकिएको उनले बताए । नेपालगञ्ज उद्योग वणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले नेपालगञ्ज सहित मध्यपश्चिमको पर्यटन अन्य क्षेत्रको तुलनामा निकै सुस्त गतिमा अघि बढेको बताए । वाँकेमा पर्यटकिय गतिविधि शुन्य रहेको भन्दै उनले अन्य क्षेत्रका पर्यटन ब्यवसायीसँग सहकार्यको खाचो औल्याए ।

नागरिक उडड्यन कार्यालय नेपालगञ्जका प्रमुख प्रताववावु तिवारीले व्यवसायीहरु संगठित हुनुपर्ने बताए । पोखराको पर्यटन व्यवसायीहरुसँगको सहकार्यमा पर्यटकिय क्षेत्र पहिचान गरी प्रवद्र्धन गर्न उनले सुझाव दिए । पोखरा नेपालगञ्ज सिधा हवाई सेवाको संभावना भएपनि तत्कालको लागि सिधा पर्यटक वस सञ्चालन गर्न उनले आग्रह गरे ।
पर्यटन कार्यालय वाँकेमा प्रमुख दिपक बुढाथोकीले व्यवसायीले सरकारी निकायसँग सहकार्य गर्न नसकेको गुनासो गरे । वाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुञ्ज वहादुर एफसिले नेपालगञ्ज पर्यटकिय संभावना बोकेको क्षेत्र भएर पनि प्रबद्र्धन गर्न नसकिएको बताए ।

त्यस्तै पोखराका व्यवसायीले वर्दियामा पनि अन्तरक्रिया सम्पन्न गरे । पर्यापर्यटन विकास मञ्च, वर्दिया राष्ट्रिय निकुञ्ज लगायतका संस्थाले संयुक्त रुपमा गरेको पश्चिम नेपालको पर्यटकिय संभावना र चुनौति तथा नाट्टाको भूमिका विषयक अन्तरक्रियामा पोखरा वर्दिया सिधा वस सेवालाई प्रथामिकता दिइयो । कार्यक्रममा बोल्नेहरुले पोखरा देखि वर्दियाको ठाकुरद्धारा सम्म सिधा वस सञ्चालन गर्न सके पर्यटक आगमन बढाउन सकिने बताए । वर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापाले वर्दिया जंगल सवारीको लागि उत्कृष्ट गन्तब्य भएपनि पर्यटक आगमन बढाउन नसकिएको बताए । पोखरा देखि सिधा वस सेवा सञ्चालन गर्न सके पर्यटकको संख्यामा बृद्धि हुन सक्ने उनको विश्वास छ ।

पर्यापर्यटन विकास मञ्च वर्दियाका अध्यक्ष कृष्ण प्रसाद भट्टराइले निकुञ्ज आसपासको क्षेत्रमा २२ वटा पर्यटकिय होटल रहेको जानकारी दिदै पर्यटक भित्र्याउन सघाउन नाट्टालाई आग्रह गरे । समग्र पश्चिम नेपालको पर्यटन प्रबद्र्धनका लागि पोखरेली पर्यटन व्यवसायीसँग सहकार्य गर्न तयार रहेको उनले बताए । नाट्टा पोखराका अध्यक्ष डिल्ली प्रसाद गौतमले नेपालगञ्ज र वर्दियासँगै अन्य क्षेत्रका पर्यटकिय संभावनालाई पहिचान गरी प्रबद्र्धनको लागि आफुहरु तयार रहेको बताए । उनले नेपालगञ्ज र वर्दियामा सिधा पर्यटक वस सञ्चालन गर्न आफुहरु तयार रहेकाले सहयोग गर्न अन्य व्यवसायीलाई आग्रह गरे ।

नाट्टा फाम टुर २०१६ का संयोजक नवराज अधिकारीले संस्थाले २००४ देखि अहिलेसम्म सञ्चालन गर्दै आएको प्रबद्र्धनात्मक कार्यक्रमले पोखरामा आन्तरिक पर्यटकको संख्या बृद्धि गरेको बताए । शुक्रवारदेखि सुरु भएको भ्रमणका क्रममा ३१ ज्नाको टोली सोमवार धनगढी पुगेको छ । मंगलवार त्यहाका व्यवसायीसँग अन्तरक्रिया गरी महेन्द्रनगर हुदै भारतको नैनीताल सम्म पुग्ने कार्यक्रम छ । भ्रमण टोली फागुन २८ गते पोखरा फर्कनेछ । यसअघि नाट्टाले पूर्वाञ्चलमा पनि प्रबद्र्धनात्मक भ्रमण सम्पन्न गरिसकेको छ ।

कमेन्टहरु
Loading...