हुर्जा मानवअधिकार पत्रकारिता पुरस्कार अधिकारीलाई र सञ्चार सम्मान आदर्श समाजलाई

पोखरा, ३१ साउन /मानवअधिकार पत्रकार संघ(हुर्जा) पश्चिमाञ्चलले आफ्नो तेश्रो अधिवेशनको अवसरमा हुर्जा मानवअधिकार पत्रकारिता पुरस्कार यो पटक पोखराकी पत्रकार स्मिता अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको छ । हुर्जाले गठन गरेको पुरस्कार छनौट समितिले अधिकारीलाई सिफारिस गरेकोले अधिकारीलाई पुरस्कृत गर्ने निर्णय कार्यसमिति बैठकबाट गरिएको हुर्जाका महासचिव विरेन्द्र सापकोटाले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले अधिकारीलाई सिफारिस गरेको हो । यहि भाद्र १३ गते अधिवेशनको अवसर पारेर अधिकारीलाई पुरस्कृत गरिनेछ । अधिकारको क्षेत्रमा विशेष कलम चलाउने पत्रकारलाई संस्थाले आफ्नो साधारणसभाको अवसरमा सम्मान गर्दै आएको र संस्थाका निवर्तमान अध्यक्ष कृष्ण अञ्जान ज्ञवालीद्धारा स्थापित पुरस्कार यो पटक अधिकारीलाई दिन लागिएको हो । पुरस्कार राशिमा पाँच हजार पाँच, दोसल्ला र सम्मानपत्र रहेको छ । यसअघि पत्रकार श्यामनाथ कुँवर हुर्जा मानवअधिकार पत्रकारिता पुरस्कारबाट पुरस्कृत भइसक्नुभएको छ ।

त्यस्तै गरेर हुर्जाले संस्थागत सम्मान लेखनाथमा रहेको परिवर्तन नेपाललाई र सञ्चार सम्मान पोखराबाट प्रकाशित आदर्श समाज राष्ट्रिय दैनिकलाई समेत सम्मान गर्ने निर्णय गरेको महासचिव सापकोटाले बताउनुभयो । हुर्जा पश्चिमाञ्चलका अध्यक्ष राजेश पराजुलीको अध्यक्षतामा बसेको बैठकले पोखरामा हुने सातौँ साधारणसभा तथा तेश्रो अधिवेशन सम्पन्न गर्नका लागि व्यवस्थापकीय संयोजक निवर्तमान अध्यक्ष कृष्ण अञ्जान ज्ञवाली र सचिवालय पोखरा–१ स्थित पृथ्वीनारायण क्याम्पसको मूल गेट अगाडी गण्डकी हाई–टेकमा रहेको छ । यहि भाद्र १३ गते हुर्जाले नयाँ नेतृत्व समेत पाउनेछ ।

कमेन्टहरु
Loading...