हरेक गाउँपालिकामा प्राथमिक अस्पताल बनाउने स्वास्थ्य मन्त्रीको योजना

काठमाडौं, २६चैत /स्वास्थ्य मन्त्रालयले सबै स्थानीय तहमा एउटा प्राथमिक अस्पताल सहित सरकारी अस्पतालको विस्तार र गुणस्तर सुधारका लागि खाका तयार पारेको छ । अबको ७ वर्षमा सबै स्थानीय तहमा २ जना डाक्टर, ओपिडी, इमरर्जेन्सी र सामान्य शल्यक्रियाको सुविधा भएको अस्पताल सहित दोश्रो तहका अस्पताल, प्रदेशमा टर्सरी लेभलको अस्पताल र केन्द्रमा विशिष्टिकृत सेवा सहितको अस्पताल स्थापना गर्ने गरि खाका तयार पारेको हो ।

सबै गाउँपालिका तथा नगरपालिकाका सबै वडामा खुल्ने प्राथमिक अस्पताल अहिलेको प्राथमिक स्वास्थ्य केन्द्र पिएचसी भन्दा सेवा र जनशक्ति दुवै हिसाबले ठुला हुने छन् । यसका लागि १ खर्ब ३१ अर्ब जति रुपैयाँ आवश्यक पर्ने देखिएको छ ।समग्रमा यो बजेट हेर्दा ठूलो आकारको जस्तो देखिएपनि सरकारले अहिले स्वास्थ्य क्षेत्रमा छुट्याइरहेको बजेटको वितरण नै वैज्ञानिक तरिकाले गर्ने हो भने ७ वर्षका लागि यो ठूलो नभएको स्वास्थ्य मन्त्री गगन थापाले जानकारी दिए ।

यो खाका केही दिनमै अर्थ मन्त्रालयमा पेश गर्ने तयारी पनि मन्त्रालयले गरेको   छ । अर्थ मन्त्रालयको स्वीकृति पछि यो कार्ययोजना अन्तर्गत काम सुरु गर्ने योजना रहेको मन्त्री थापाले बताए । सरकारी स्वास्थ्य संस्थाका भवनको डिजाइन कस्तो हुने भन्ने बारेमा पनि मन्त्रालयले काम गरिरहेको छ । एउटा एउटा काम गर्दा एकातिर अल्झिने र काम त्यतिकै अलपत्र पर्ने भएकाले सवै काम एकसाथ अघि बढाइएको उनले बताए । यस्तै, स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बिमालाई देशैभरि विस्तार गर्ने तथा स्वास्थ्य जाँचलाई सुलभ बनाउने योजनापनि सँगै अघि बढाइएको मन्त्री थापाले बताए ।

कमेन्टहरु
Loading...