चर्को घाममा प्रशिक्षण गरेको प्रतिफल आठौंमा स्वर्ण, ह्याण्डबलमा एउटै वडाका ६ खेलाडी

पोखरा, १६ बैशाख/कडा मेहनतले मात्रै प्रतिफल पाईन्छ । मध्यान्ह चर्को घाममा नियमित प्रशिक्षण । एक महिनासम्मको दिनहुँ १२ बजेदेखि ३ बजेसम्म प्रशिक्षण । समूहगत प्रशिक्षणले ह्याण्डबल टोली निकै खारियो ।

त्यसमा अझ केही दिनको बन्द प्रशिक्षणले खेलाडीमा निखारता आयो । नेपालगन्जको चर्को घाममा पुरुष ह्याण्डबलमा गण्डकी प्रदेशले स्वर्ण पदक जित्यो । खेल साँभ र विहान खेलियो । पोखराको मध्यान्हमा गरिएको प्रशिक्षणले नेपालगन्जको विहान र साँझको मौसम खेलाडीलाई उपयुक्त हुन पुग्यो । ‘दिउँसो ट्रेनिङ नगरेको भए यो उपलब्धी हासिल गर्न सकिने थिएन् ।’

नेपालगन्जबाट फर्किएको ह्याण्डबल टोलीका कप्तान विशाल बस्नेतले प्रतिफल प्राप्त गरेपछि भने–‘यहाँ दिउँसोको घाममा गरिएको प्रशिक्षणले नेपालगन्जको विहान र साँझ खेल्न सकियो ।’
पुरुष ह्याण्डबल टोलीमा एकै वडाका ६ जना खेलाडी थिए । टोलीमा १४ जना थिए । अन्य जिल्लाका पनि समावेश थिए । तर नेतृत्वसँगै मैदानमा उत्रिएका थिए पोखरा महानगरपालिका १६ का ६ जना खेलाडी ।

सबै युवा थिए । १४ वर्षदेखि ३० वर्षका युवाहरुको जमात थियो । टिम वर्क पनि उस्तै रह्यो । कप्तान विशाल भन्छन–‘सिनियर र जुनियर खेलाडीको समिश्रण थियो । खेलमा सबैको उत्साह र टिमवर्कले स्वर्ण पदकमा ह्याट्रिक हुन पुग्यो ।’

गण्डकी प्रदेशले सातौंमा तेस्रो स्थानमा चित्त बुझाएको थियो । पाँचौं र छैटौंमा स्वर्ण पदक जितेको पुरुष ह्याण्डबलले सातौंमा स्वर्ण जित्दै ह्याट्रिक पुरा गर्ने सपना भने अधुरै रह्यो । तर त्यसको साढे दुई वर्षपछि नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा टिम गेममा स्वर्ण पदक जित्दै इतिहास लेखायो । दुई खेलाडी त अझ विद्यालयस्तरकै हुन् । युवालाई समेट्दै सन्तुलित टोली बनाउनु कप्तान विशाल बस्नेतलाई निकै चुनौति नै रह्यो ।

कप्तान बस्नेतसँगै प्रविन गुरुङ, विमल थापा, विशाल नेपाली, दिनेश श्रेष्ठ र पवन छन्त्याल एउटै वडाका थिए । तीन खेलाडी पोखरा एकेडेमी, माउण्ट अन्नपूर्ण र सरस्वती बोर्डिङका थिए । पवन, प्रविन गुरुङ र जेनिस पुन स्कुले खेलाडी हुन् । कप्तान विशाल थप्छन–‘नेपालमै यु–१९ आईएचएफ(अन्तराष्ट्रिय ह्याण्डबल फेडेरेशन)को प्रतियोगिता हुदैं छ ।

खेलाडीलाई एक्पोजर गर्न पनि तीनजना स्कुले खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा अवसर दियौं ।’ सातौंमा विभागीय टोलीसँग पराजित हुदैं तेस्रो स्थानमा चित्त बुझाएको ह्याण्डबल टोलीले आठौंमा भने विभागीय टोली शसस्त्र प्रहरी बललाई ३७–३२ गोलले पराजित गर्दै स्वर्ण पदक जितेको थियो ।
एकै वडाका ६ जना खेलाडी भएपछि घर नजिकै स्कुले मैदानमा नियमित रुपमै प्रशिक्षण गरिदैं आएको उनको सुनाउँछन् । १२ बजेदेखि ३ बजेसम्म नियमित रुपमा एक महिना प्रशिक्षण गरिएको सुनाउँदै कप्तान बिशालले २८ गतेदेखि बन्द प्रशिक्षणको समयमा पनि दिउँसो नै ट्रेनिङ गरिएको बताए । ‘पोखरा रंगशालाभित्रको ह्याण्डबल कोर्टमा दिउँसो प्रशिक्षण गर्यौं ।

दिउँसो प्रशिक्षण गर्दा खेलाडीको स्टमिना समेत बढ्यो । घाममै दौडिनुपर्छ भन्ने मानसिकताले प्रशिक्षण गर्यौं । नेपालगन्जमा गर्मीको अनुभूति भएन् ।’ कप्तानको भनाई थियो । २०६३ सालदेखि ह्याण्डबल खेल शुरु गरेको उनी व्याडमिन्टनका खेलाडी समेत हुन् । त्यसो त फुटबल पनि उनले स्कुलमा प्रशिक्षण गराउँदै आएका छन् ।

ह्याण्डबल टोलीलाई यसभन्दा अघि राखेप च्याम्पियन तथा लुम्बिनी च्याम्पियन समेत हुदैं राष्ट्रिय प्रतियोगितामा उपाधि उचाल्ने उत्साह थपिएको थियो । पोखरामा विशेष गरी सिनियरस्तरको ह्याण्डबल प्रतियोगिता भने पछिल्लो समय आयोजना भएको छैन् । स्कुलस्तरीय एवं उमेर समूहगत र दशजोड दुईस्तरीय प्रतियोगिता भने आयोजना हुदैं आएको छ । जुन प्रतियोगिता ह्याण्डबल खेलाडी उत्पादनको लागि सघाउ पुगेको उनको भनाई थियो ।

कमेन्टहरु
Loading...