श्रमिक बालबालिका संरक्षणको लागि घटना व्यवस्थापन तालीम

पोखरा, ७ वैशाख पोखरा उद्योग वाणिज्य संघअन्तर्गत संचालित बालश्रम न्यूनिकरण कार्यक्रमले श्रमिक बालबालिकाको संरक्षणको लागि घटना व्यवस्थापन तालीम प्रदान गरेको छ । तालीममा बालश्रम कार्यक्रमअन्तर्गत परिचालन हुने १९ जना सहजकर्ताहरुको सहभागिता रहेको थियो ।
जोखिममा परेका बालबालिकाहरुसँग सम्बन्धित घटनाहरुलाई कसरी व्यवस्थापन गर्ने र ती बालबालिकाको संरक्षणमा कस्तो कदम चाल्ने भन्नेबारे तालीम केन्द्रित रहेको थियो । तालीममा बालबालिकाहरुमाथि हुने घटना दर्ता, घटनाको लेखाजोखा,संरक्षण तथा स्याहार,योजना कार्यान्वनय, समीक्षा र  अनुगमनलाई विशेष महत्व दिइएको थियो । बालबालिकामाथि हुने यस्ता घटनाहरुको बढीमा तीन वर्षभित्र छिनोफानो हुनुपर्ने कानूनी व्यवस्था कार्यान्वयनमा सामाजिक परिचालकहरु लाग्नुपर्नेमा जोड दिइएको थियो ।
तीन दिने तालीमको बिहीबार भएको  समापन  कार्यक्रमका प्रमुख अतिथी श्रम कार्यालय पोखराका प्रमुख भरतराज काफ्लेले आफूले राजीनामा दिनै पर्ने अवस्था आए पनि बालअधिकारको लागि काम गरेरै छाड्ने वचनवद्धता व्यक्त गरे ।बालश्रम भएको क्षेत्रमा आफ्नो कार्यालय पुग्न नसकेको स्वीकार्दै उनले बालबालिकाको उद्धार गरेपछि राख्ने बालगृहरु व्यवस्थित हुनुपर्नेमा जोड दिए । केही कानूनी प्रावधानहरुका कारण बालश्रमबिरुद्धको अभियानमा सोचेजति काम गर्न नसकिएको बताउँदै उनले भने ,‘ कानून मिलाएर देश बिगार्न मिल्ने तर कानून बिगारेर देश  बनाउन नपाइने नियतीमा हामी रहेका छौँ ।’
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजुले श्रमिक बालबालिकाको जीवन बीमा गर्न सकिएमा उनीहरुको भविष्य सुरक्षित हुने धारणा राखे । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत संचालित बालश्रम न्यूनिकरण कार्यक्रम संघको उत्कृष्ट कार्यक्रम भएको उल्लेख गर्दै उहाँले बालश्रम न्यूनिकरण कार्यक्रमलाई  अझ व्यवस्थित बनाउने बताए  ।
बालश्रम न्यूनिकरण कार्यक्रमका अध्यक्ष रमेश कर्माचार्यले देशका उद्योग वाणिज्य संघमध्ये पोउवा संघले मात्र बालश्रम न्यूनिकरणको क्षेत्रमा काम गरेको बताउँदै निजी क्षेत्रबाट गरिएको यो कार्यक्रम उत्कृष्ट भएको जानकारी दिए । समापन कार्यक्रममा तालीमका प्रशिक्षक बद्रिप्रसाद वाग्ले, बालश्रम न्यूनिकरण कार्यक्रम संयोजक भक्तराज रसाइली, कार्यक्रम अधिकृत दीपक ढुंगाना, तालीमका सहभागिहरु पावर्ती आले र मनिषा राणाले पनि मन्तव्य राखेका थिए ।
कमेन्टहरु
Loading...