विद्यार्थी हड्तालप्रति जिएमसी कलेज प्रशासनको ध्यानाकर्षण, आन्दोलन फिर्ता लिन आग्रह

पोखरा, १८ फागुन /करीब एक महिना यता जारी विद्यार्थीहरुको आन्दोलनका कारण कलेज र अस्पताल ठप्प बनेपछि पोखरा स्थित गण्डकी मेडीकल कलेज प्रशासनले चिन्ता ब्यक्त गरेको छ । शनिबार कलेजले एक बिज्ञप्ती जारी गर्दै २८ दिनदेखि शिक्षण अस्पतालमा गरीएको बन्दप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

शुल्क विवादसम्बन्धि विषयबाट कलेज हुदै अस्पतालको सेवा सम्म पुगेको विद्यार्थीहरुको हड्तालले आम विद्यार्थीसहित सेवाग्राहीसमेत मर्कामा परेको कलेज प्रशासनको ठहर छ । बिज्ञप्तीमा कलेजले बिद्यार्थीहरुको हड्तालका कारण विश्वविद्यालयको शैक्षिक क्यालेण्डर अनुसार परीक्षा संचालन गर्न नसक्दा स्वंयम बिद्यार्थीहरुको भविष्यमा समेत नकारात्मक असर परेको भन्दै तत्काल समस्या समाधानतर्फ लैजानका लागि कलेज प्रशासन गम्भीर रहेको बताएको छ ।

आन्दोलनकै कारण हाल कलेजमा पठनपाठन अवरुद्ध हुनुका साथै र अस्पतालको सेवा समेत प्रभावित भएको छ । विद्यार्थीको राखेको मागलाई ध्यानमा राख्दै विभिन्न चरणमा वार्ता र संवादको प्रयास गरीएपनि समस्याको समाधान ननिस्कदा अस्पताल र कलेज सुचारु हुन नसकेको प्रति प्रशासनले ध्यानाकर्षण जनाएको हो । विद्यार्थीको शुल्कसम्बन्धि अधिकार एवं ब्यवस्था त्रि.वि.ऐन २०४९ को दफा १४(च) मा रहेको र सोही अनुरुप शुल्क लिईएको कलेजको दावी छ ।

बिज्ञप्तीमा भनिएको छ ,“शुल्क सम्बन्धि सम्पूर्ण विवरणसहितको ब्यहोरा विश्वविद्यालयका उपकुलपति तथा डिनको कार्यालयलाई जानकारी गराउँदा गराउँदै पनि कलेजमा पठनपाठन तथा अस्पताल संचालनमा भएको अवरोध हटाउनका लागि एक ठोस प्रतिवेदन तथा निर्देशन विश्वविद्यालयबाट प्राप्त हुनेमा र सोही निर्देशन पालना गर्न कलेज प्रशासन प्रतिबद्ध छ । ”

त्रिभुवन विश्वविद्यालयको निर्देशन र उसले गठन गरेको शुल्क सम्बन्धि अध्ययन समितिको प्रतिवेदन नआउँदासम्म आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता गरी अस्पतालको सेवा सुचारु गर्ने बाताबरण बनाउन पनि कलेजले विद्यार्थीहरुसँग आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...