गण्डकी मेडिकल कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलित

पोखरा, २८ माघ/तोकिएभन्दा बढी पैसा लिएको भन्दै गण्डकी मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । कक्षाकोठा र कलेज प्रशासनमा तालाबन्दी गरेका विद्यार्थीले बढी पैसा फिर्ता माग्दै आन्दोलन गरेका हुन् ।

अघिल्लो सातादेखि आन्दोलित विद्यार्थीले कास्की प्रशासन र गण्डकी प्रदेशको सामाजीक विकास मन्त्रालयमा उजुरी गरेका थिए । प्रशासनले विद्यार्थी र कलेज व्यवस्थापन दुवै पक्षसँग वार्ता गरे पनि समस्या सुल्झिन सकेको छैन । प्रशासनसँग हारगुहार गर्दा पनि सुनुवाइ नभएपछि विद्यार्थीले आइतबारदेखि गण्डकी शिक्षण अस्पतालमै रिले अनशन सुरु गरेका छन् ।

दुई सातादेखि आन्दोलन गर्दा पनि सुनुवाइ नहुँदा अनसन थाल्नुपरेको आन्दोलन विद्यार्थी प्रवीण गौतमले बताए । प्रशासनले वार्तामा बोलाउने तर सहमतिबिनै झुलाइरहने गरेको गौतमले बताए । सन् २०१६ देखियताको ब्याचका विद्यार्थीले कलेजबाट बढी शुल्क उठाइएको बताउँदै आन्दोलन गरिरहेका हुन् । उनीहरुले तोकिएभन्दा २ देखि ७ लाख रुपैयाँ शुल्क कलेजले बढि उठाएको बताउँदै आएका छन् ।

कलेज प्रशासनले भने सरकारबाट तोकेको शुल्क नै लिदै आएको दावी गरेको छ । मेडिकल कलेजहरुको शुल्क त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले तोकेको छ । संस्थानको डीनको कार्यालयले २०७२ असोज १ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार चिकित्साशास्त्र शिक्षा पढाउने कलेजको फी निर्धारण भएको जनाएको छ । उसले उपत्यकाबाहिरका कलेजलाई ३८ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको छ ।

दोस्रो किस्ता स्वरुप २५ प्रतिशत तेस्रो वर्षमा र तेस्रो किस्ता २५ प्रतिशत चौथों वर्षमा बुझाउनुपर्ने नियम संस्थानले बनाएको छ। तर गण्डकी मेडिकल कलेजका विद्यार्थीले त्यसभन्दा बढी फी तिर्नुपरेको भन्दै आन्दोलन गरेका हुन्। कलेजले भने पुरानो मितिमा तोकिएको फीअनुसार पढाउन नसकिने बताएको हो।

कमेन्टहरु
Loading...