स्रष्टा नेपालको ‘युवालाई आह्वान’

पोखरा, २१ चैत
“यो पाखासिली सुन्दर शान्त असाध्य राम्रो छ
डाँडाको काखमा सुतेछ मस्त निर्धक्क राम्रो छ
बिजुली, पानी, गाडीको बाटो सुविधा भाको छ
अन्न र फल जे पनि हुने उब्जाउ पाखो छ”
(सुन्दर शान्त पाखासिली)

साहित्यकार डिल्लीराम नेपाल ‘युवालाई आह्वान’ कविता कृतिसहित आएका छन् । उनले यसअघि लोकलयमा आधारित योगकाव्य ‘अष्टाङ्ग योग’ पाठकमाझ ल्याइसकेका थिए । युवालाई आह्वान संग्रह विभिन्न रंग र स्वरुपका फूलहरु मिलेर बनेको पुष्पगुच्छा हो । चम्पा नेपाल प्रकाशक रहेको उक्त कृति दुई खण्डमा विभाजित छ । जसमा ३२ कविता संग्रहित छन् । गीत र कविताको सँगालो उक्त कृतिमा गद्य र पद्य दुवै छन्दमा लेखिएका छन् ।

कृतिमा राष्ट्रियता, प्रकृतिको वर्णन, भूकम्पबाट क्षति, जन्मभूमिको स्नेह, विश्वबन्धुको भावनासँगै युवालाई माटोको माया गर्न सुझाव छ । त्यस्तै, सुन्दर प्रकृतिको अनुपम मुलुक नेपालमा सम्भावना धेरै रहेको उल्लेख गर्दै दलहरुलाई समेत दलगत स्वार्थबाट माथि उठेर सेवामा लाग्न उनले सल्लाह दिएका छन् ।

पाल्पाको पालुङमैनादी, पाखासिलीमा जन्मिएका स्रष्टा नेपाल स्कुल पढ्दादेखि नै कविता सृजनामा रुची राख्दथे । करिब ३३ वर्ष निजामती सेवाका जागिरे उनी २०६५ मा लेखा अधिकृत पदबाट सेवानिवृत्त भएका हुन् । निजामती प्रवेशअघि उनी एक दशक शिक्षण सेवामा समर्पित थिए ।

जैन विश्वभारती विश्वविद्यालय, भारतबाट जीवन विज्ञान, प्रेक्षाध्यान एवं योग विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । यस्तै, भारतकै गोरखपुर स्कूल अफ नेचुरल थेरापी कलेजबाट तालिम लिइ डाक्टर इन नेचुरोपेथी (एन.डी.) उपाधिसमेत हासिल गरेका छन् । योगलाई दैनिकी बनाउँदै आएका कवि नेपालले वाल्मिकी विद्यापीठबाट ६ महिनाको योग प्राकृतिक चिकित्साको तालिम लिएका छन् । उनका विभिन्न पत्रपत्रिका, स्मारिका, बुलेटिनमा थुप्रै लेख, रचना, निबन्ध, रचना, कविता प्रकाशित हँुदै आएका छन् । २०६९ सालमा प्रकाशित अष्टाङ्ग योगलाई धेरै पाठकले रुचाएका थिए ।

निरन्तर कलम चलाइरहने तथा समाजसेवामा लाग्न सधैँ उत्साही हुने उनले आफूलाई निरन्तर साहित्य श्रृजनाका साथै समाजसेवामा लागि रहने अठोट गरेका छन् । उनी कान्ताश्रम पर्यटन प्रवद्र्धन समिति, पालुङ मैनादीलगायत विभिन्न संघसंस्थामा आवद्ध रहेको उनका सुपुत्र नेपाल सरकारका उपसचिव कविन्द्र नेपालले जानकारी दिए ।

उनको सृजनामा प्रकृतिले सिंगारिएको देश क्यानाडाको रमाइलो (यात्रा संस्मरण), योग एक वरदान (अनुवाद), आत्मानुशासन (अध्यात्म निवन्ध संग्रह), मेरो डायरीका पाना (सम्पादन) र अध्यात्म र विज्ञान (अनुवाद) प्रकाशोन्मुख छन् । सामाजिक सेवामा उत्तिकै सक्रिय उनी भारत, बेलायत, क्यानडा, ब्रसेल्स देश घुमेका छन् । राजधानीमा हालै भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले युवालाई आह्वानसहित अन्य ६ स्रष्टाको कृति विमोचन गरेका हुन् ।

तन्नेरी द्वैमासिक साहित्यिक पत्रिकाको वार्षिक कार्यक्रमअन्तर्गत भएको उक्त समारोहमा बोल्दै कुलपति उप्रेतीले तन्नेरीले भाषा, साहित्य र संस्कृतिमा निरन्तर योगदान दिएको बताए । तन्नेरीका संस्थापक एवं प्रकाशक विदुर गौतमले कृति प्रकाशन र विभिन्न क्षेत्रमा योगदान पु¥याउनेलाई सम्मान गरेर प्रेरणा प्रदानको प्रयास गरेको बताए । कार्यक्रममा विभिन्न व्यक्तिलाई तन्नेरी प्रतिभा सम्मान पनि गरिएको थियो ।

कमेन्टहरु
Loading...