मुस्ताङको चराङमा विमानस्थल निर्माण गर्ने

निरज थकाली
जोमसोम, १२ कात्तिक / सरकारले मुस्ताङको ल्यो घ्यकर दामोदर कुण्ड गाउँपालिका १ चराङमा विमानस्थल निर्माण गर्ने भएको छ । उपल्लो मुस्ताङका बासिन्दा तथा छोटो अवधिका लागि भ्रमणमा आउने पर्यटकहरुलाई लक्षित गरेर चराङमा विमानस्थल बनाउने भएको हो ।

एक वर्षअघि नेपाल नागरिक उड्यन प्राधिकरणका इञ्जिनियर पुष्पराज न्यौपानेको नेतृत्वमा आएको प्राबिधिकहरुको टोलीले बिमानस्थल निर्माणका लागि स्थलगत अध्ययन गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले सोमबार प्रस्तावित विमानस्थल निर्माण स्थलको स्थलगत निरिक्षण गरेका छन् ।

मन्त्री भट्टराईले प्राबिधिक टोलीले तयार पारेको प्रतिवेदनको आधारमा विमान स्थल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर कार्यान्वयनमा लैजाने बताए । डिपिआर बनाउन प्राबिधिक टोली पठाउने जानकारी दिए ।

समुन्द्रि सतहदेखि तीन हजार ६ सय मिटरको उचाईमा करिब तीन हजार रोपनी समथर जमिनमा विमानस्थल बनाउन प्रस्ताव गरिएको दामोदर कुण्ड लोघ्यकर गाउँपालिकाका अध्यक्ष राजु बिष्टले बताए ।

“छोटो समयका लागि भ्रमणमा आउने विशिष्ट पर्यटक र स्थानीयको सुबिधाका लागि बिमानस्थल निर्माण गर्न पहल गरिएको हो” बिष्टले भने “जोमसोम हुदै उपल्लो मुस्ताङ भ्रमणमा जान धेरै समय लाग्ने र सडक यातायातको सहज सुबिधा नभएकाले पर्यटकहरुलाई समस्या भएको छ ।”
निर्वाचनको बेला जनतालाई गरेको बाचा अब पुरा हुने संघीय माननिय प्रेम प्रसाद तुलाचनले बताए । उनको नेतृत्वमा पर्यटन मन्त्री योगेश भट्टराईलाई मुस्ताङ ल्याएको हो ।

सो कार्यक्रममा प्रदेश सांसद इन्द्रधारा बिष्ट, जिल्ला समन्वय प्रमुख छिरिङ ल्हामो गुरुङ , वडा अध्यक्ष टसि ढिन्ढु लगायत स्थानीय अगुवाहरु जानकारी दिएका थिए । यसैगरी मन्त्री भट्टराईले दामोदरकुण्ड लोघ्यकर गाउँपालिका–२ मा सञ्चालित मराङ सामुदायिक होमस्टेको उद्घाटन गरेका छन् । मराङको ५ वटा घरमा होमस्टे (घरबास) सञ्चालन भएको छ ।

मन्त्री भट्टराईले हिन्दु तथा वौद्ध धर्मवालम्बिहरुको साझा तिर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा भएका पूर्वाधार निर्माणका कामको निरिक्षण र सरोकारवालाहरुसँग छलफल गरेका थिए । मुक्तिनाथ मन्दिरको गुरुयोजना अनुसार पुरातत्व विभाग संगको समन्वयमा विभिन्न पूर्वाधार निर्माण भइरहेको छ ।

कमेन्टहरु
Loading...