गृहमन्त्रीको ढिलाइले सप्तरीमा यात्रुलाई कष्ट, न्यायिक आयोग गठन

९ जेठ, काठमाडौं । उद्घाटन, गोष्ठी र निजी कामका लागि ठाउँठाउँमा पुग्न भ्याउने सरकारका मन्त्रीहरु पूर्वसभासदको हत्या भएको ठाउँ सप्तरीमा भने अझैसम्म पुग्न भ्याएका छैनन् । पूर्वसभासद सदरुल मिया हकको सोमबार राति सप्तरी कल्याणपुरस्थित आफ्नै पेट्रोलपम्पमा हत्या भएपछि पूर्वी तराईमा दिनदिनै आगो दन्केको छ । घटनास्थलमा गृहमन्त्री आउनुपर्ने स्थानीयवासीको माग छ ।मन्त्रिपरिषदको विहीबारको बैठकले सर्वोच्चका पूर्वन्यायाधीश ताहिर अलि अन्सारीको संयोजकत्वमा उच्चस्तरीय न्यायिक छानविन समिति गठन गरेको छ ।

हत्यारालाई पत्ता लगाएर कार्वाही गर्न माग गर्दै स्थानीय बासिन्दा र आफन्तहरुले सप्तरी र सुनसरीका बिभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । उनीहरुले शवलाई सडकमै राखेर नाराबाजी गरिरहेका छन् । जसका कारण पूर्व-पश्चिम राजमार्गको सप्तरी खण्डमा तीनदेखि यातायात ठप्प छ । गन्तव्यका लागि हिँडेका यात्रु बीच बाटोमै अलपत्र परेका छन् । तीन दिनदेखि चर्को घाम र खलखली पसीना बग्ने तराईको गर्मीमा अलपत्र भएपछि बृद्धबृद्धा, केटाकेटी, महिला र अशक्तहरु बिरामी पर्न थालेका छन् ।

गृहमन्त्री घटनास्थल पुगेर हत्यारालाई कार्वाही गर्ने प्रतिबद्धता जनाएपछि मात्र यातायात खुलाउने प्रदर्शनकारीको माग छ । तर छानबीन समिति गठन गर्ने र विज्ञप्ती निकालेर आन्दोलन फिर्ताको लागि आग्रह गर्ने बाहेक सरकारले केही गरेको छैन । गृहमन्त्रालयले बुधबार अबेर विज्ञप्ति निकालेर माग पूरा गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ ।

न्यायाधीशको नेतृत्वमा छानविन समिति गठन
यसैवीच मन्त्रिपरिषदको विहीबार बसेको बैठकले मियाँको हत्याबारे छानविन गर्न सर्वोच्च अदालतका पूर्वन्यायधीश ताहिर अलि अन्सारीको संयोजकत्वमा उच्चस्तरीय न्यायिक जाँचबुझ समिति गठन गरेको छ । समितिमा सर्वोच्चका पूर्वन्यायाधीश अन्सारी, महान्यायाधिवक्ता सूर्य कोइराला र अतिरिक्त प्रहरी महानिरीक्षक दिनकरसमशेर राणा रहनुभएकोछ । एआइजी राणा यसअघि गृहमन्त्रालद्वारा गठित छानविन समितिको संयोजकसमेत हुनुहुन्छ । यकारले मृतकका परिवारलाई १० लाख रुपैयाँ रुपैयाा दिने निर्णयसमेत गरेको छ ।

घर अगाडि नै वार्ता हुनुपर्ने माग

पूर्वसभासद मियाको हत्या लगत्तै स्थानीयस्तरमा आन्दोलन समिति नै गठन गरेर सडकमा उत्रिएका प्रदर्शनकारीले गृहमन्त्री घटनास्थल आउनुपर्ने माग गरेका छन् । ‘गृहमन्त्री लगायत मुख्य दलका जिम्मेवार नेताहरु मियाको घरमै आएर त्यहीँ परिवारसहितको उपस्थितमा वार्ता गर्नुपर्छ’ आन्दोलनको नेतृत्व गरेका पूर्वसभासद विश्वेन्द्र पासवानले अनलाइनखबरसित भन्नुभयो-’त्यसो भएमा मात्र यातायात बन्द लगायतका बिरोधका कार्यक्रम स्थगित गर्न सकिन्छ ।

छानबिन समितिमा मुस्लिम समुदायको प्रतिनिधित्व हुनुपर्ने, सुरक्षाको प्रत्याभूति दिनुपर्ने, मियालाई शहीद घोषणा गर्नुपर्ने उनीहरुको माग छ । माग पूरा नहुँदासम्म उनीहरु पछि नहट्ने अडानमा छन् । तर राज्यको खर्चमा विभिन्न जिल्लामा मन्दिर उद्घाटन गर्न फुर्सद हुने सरकारका मन्त्रीहरुलाई सप्तरी पुगेर आन्दोलनकारीसँग वार्ता गर्ने फुर्सद मिलेको छैन । ‘आज बल्ल आउने कुरा सुनेको छु’ पासवानले भन्नुभयो ।

– See more at: http://www.onlinekhabar.com/2013/05/73869/#sthash.c2XdTrdu.dpuf

कमेन्टहरु
Loading...