मालेपाटनमा थाइराइड र मधुमेह शिविर

पोखरा, २६ साउन / सूर्यचन्द्र विकास समाज र नेपाल रेडक्रस सोसाइटी पोखरा ५ उपशाखाले संयुक्त रुपमा पोखरा ५ मालेपाटनमा शनिबार थाइराइड तथा मधुमेह जाँच शिविर आयोजना गरेका छन् ।

युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले प्राविधिक सहयोग गरेको शिविरमा ७ सय २३ जनाको सित्तैमा थाइराइड तथा मधुमेहसम्बन्धी रगत जाँच गरिएको छ ।

पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले समृद्धि र विकास पूर्वाधार र विज्ञान, प्रविधिमा मात्र सिमित नहुने बताए । उनले भने, ‘समृद्धि भनेको बाटो, विज्ञान, प्रविधिमात्र होइन, अबको विकास भनेको गुणस्तरीय स्वास्थ्य पनि हो ।’ सचेतना, शिविर जस्ता गतिविधिले रोग लाग्नु अगावै नागरिकलाई सजग बनाउन योगदान गरिरहेको बताए ।

शिविरमा मधुमेह, थाइराइड तथा हर्माेन विशेषज्ञ डा. तारा कोइरालाले मधुमेह र थाइराइड लाग्नुका कारण, रोग लाग्नै नदिन अपनाउनुपर्ने सजगता र उपचार पद्धतिबारे प्रकाश पारेका थिए ।

उनले नेपाली मधुमेह र थाइराइडका समस्याले ग्रस्त हुँदै गएकाले यी रोगबारे सित्तैमा गुणस्तरीय स्वास्थ्य सेवा जरुरी भएकोमा जोड दिए ।

मधुमेहबारे नेपालमा केही हदसम्म छलफल र विभिन्न शिविर भए पनि थाइराइड जाँचका शिविर कमै भएको भन्दै उनले यस्ता शिविरलाई बढावा दिनुपर्ने बताए ।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले युआरएल सेवा विस्तारसँग सामाजिक उत्तरदायित्व निर्वाहमा पनि उत्तिकै प्रतिवद्ध भएको बताए ।

उनले अहिलेसम्म युआरएलले विभिन्न संघ, संस्थासँग मिलेर गरेका शिविरमा ३० हजार बढीको निशुल्क परीक्षण गरिसकिएको जानकारी दिए ।

कार्यक्रममा पोखरा ५ का वडा सदस्यहरु पुष्पराज बराल र हरिमाया विकले पनि बोलेका थिए । नेपाल रेडक्रस सोसाइटी पोखरा ५ उपशाखाका सभापति बुद्धिसागर खनालको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन उपशाखाका सदस्य मनिराम बरालले गरेका थिए ।

कमेन्टहरु
Loading...