चारबुँदे घोषणापत्र जारी गर्दै टुङ्गियो २८ औं राष्ट्रिय चिकित्सक सम्मेलन

99

पोखरा, १८ फागुन/ संघीय संचरनामा गईसकेपनि स्वास्थ्य क्षेत्र अझै संघीय संरचनामा जान नसकेको निष्कर्ष निकाल्दै २८ औं राष्ट्रिय चिकित्सक सम्मेलन पोखरामा टुंगिएको छ । सम्मेलनले चार बुँदे घोषणा जारी गर्दै संघीय संरचनासँगै स्वास्थ्य क्षेत्रलाई पनि संघीयता हुनुपर्ने निष्कर्ष निकालिएको छ । चिकित्सकहरुले संघीयताको भावना र मर्म अनुसारको स्वास्थ्य क्षेत्रमा सुधारसँगै परिमार्जन गर्नुपर्नेमा समेत सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सम्मेलनले संघीय गणतन्त्र नेपालमा स्वास्थ्य क्षेत्रमा अवसर र चुनौतिक विषयमा केन्द्रीत थियो । चार बुँदे घोषणापत्र जारी गर्दै टुंग्याइएको सम्मेलनले संघीयताको भावना र मर्म बमोजिम नेपालको स्वास्थ्य क्षेत्रलाई परिमार्जन गर्नुपर्ने निष्कर्ष निकालिएको उल्लेख छ । कार्यक्रमका प्रवक्ता डा. नवराज लम्डारीले सरकारका सबै निकाय संघीयतामा गईसकेपनि स्वास्थ्य क्षेत्र भने संघीयता गईनसकेको टिप्पणी गरे । ‘चिकित्सक मात्रै गएर हुदैन् । चिकित्सकसँगै स्वास्थ्य उपचारको लागि आवश्यक उपकरण उपलब्ध हुनुपर्छ ।’ उनको भनाई थियो । स्वास्थ्य क्षेत्र अझै केन्द्रकृत नै रहेको जिकिर उनको थियो ।

दोस्रो बुँदामा ‘नेपाल संघीय संरचनामा गईसकेको अवस्थामा नेपालका सम्पूर्ण स्वास्थ्य संस्था तथा चिकित्सकहरुको अवस्थाप्रति गम्भीर रुपमा मनन गरी गरिएको व्यापक छलफल र निचोड बमोजिम स्वास्थ्य संस्था तथा चिकित्सकहरुको सुरक्षाका निम्ति आवश्यक ऐन कानूनहरुको तर्जुमा गरी सुरक्षित बातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्न पाउनु पर्ने निचोड निकालियो ।’ लेखिएको छ ।

स्वास्थ्य सेवा विशिष्टकीरण सेवा भएको उल्लेख गर्दै नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजालले निजामति सरहको नहुने स्पष्ट पारे । ‘हिजो स्वास्थ्य ऐन छुट्टै थियो । अब चिकित्सक ऐन छुट्टै हुनुपर्छ’, उनले भने–‘ऐन विशेष गरी चिकिसकको बृत्ति विकासको लागि आवश्यक छ ।’ स्वास्थ्य सेवामा आधुनिक उपकरणसहित व्यवस्थित हुनुपर्ने आवाज चिकित्सकहरुले उठाएका छन् ।

डर त्रास धम्की र दबावमा उपचार सेवा गर्न नसकिने भन्दै डा. रिजालले सुरक्षित बातावरणा बनाउनुपर्नेमा जोड दिए । अस्पतालमा उपचारको क्रममा विरामीको मृत्युपछि उब्जिने घटनाले चिकित्सकहरुलाई असुरक्षित बनाएको आभाष हुदैं गएको आवाज चिकित्सकहरुले उठाउँदै आएका छन् । यसले गर्दा दबाव, तनाव र धम्कीमा चिकित्सकले स्तरीय स्वास्थ्य सेवा दिन नसक्ने भन्दै दबाव र धम्की आउन नदिई सुरक्षित बातावरण सृजना गर्ने तर्फ सरकार गम्भीर हुर्नुपर्ने संघको अभिव्यक्ति छ ।

तेस्रो बुँदामा ‘नेपालको चिकित्सा क्षेत्रमा विशेष योगदान पुर्याउँदै आएका निजी क्षेत्रका स्वास्थ्य संस्थाहरुलाई नेपाल सरकार तथा मातहतका निकायहरुले विशेष प्राथमिकतामा राख्दै निजी क्षेत्रमा स्वास्थ्य संस्थाहरुसँग समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने र स्वास्थ्य सेवाका सेवाग्राहीहरुलाई सरकारी वा निजी स्वास्थ्य संस्थामा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि उचित बातावरण सिर्जना गर्नुपर्ने निचोड निकालियो ।’ उल्लेख छ ।

चौथो बुदाँमा ‘नेपाल सरकारले तर्जुमा गर्ने स्वास्थ्य सम्बन्धी ऐन, नीति नियम तथा निर्देशिकाहरुमा निजी स्वास्थ्य संस्थाहरुको समेत सहभागितालाई सुनिश्चित गरी सो को अक्षरश कार्यान्वयनका लागि आ–आफनो ठाँउबाट आवश्यक पहल गर्ने निचोड निकालियो ।’ उल्लेख छ । सरकारले स्वास्थ्य सेवा सम्बन्धी बनाउने नीति नियम तथा ऐनमा स्वयं चिकित्सकहरुलाई पनि संलग्न गराउनुपर्ने आवाज उठाइएको छ ।

नीति नियम बनाउन चिकित्सकसँग राय सुझाव एवं सरसल्लाह नै नगरी बनाईदा चिकित्सकहरुले बेला बेलामा आन्दोलन गर्नुपर्ने परिस्थिति सृजना हुदैं आएको भन्दै महासचिव डा.रिजालले भने–‘स्वास्थ्य नीति निर्माणमा चिकित्सकको राय सुझाव लिएर बनाउँदा आन्दोलनको स्थिति आउदैन् ।’ नेपाल चिकित्सक संघ गण्डकी शाखाको आयोजनामा तीनदिनसम्म सञ्चालित सम्मेलनमा देशभरबाट ५ सय भन्दा बढी विभिन्न विधाका चिकित्सकहरुको उपस्थिति रहेको थियो ।

तीन दिनसम्म विभिन्न विधामा अनुसन्धान गरिएका ५० भन्दा बढी कार्यपत्र प्रस्तुत गरिएको गण्डकी शाखाका अध्यक्ष प्रा. डा निर्मल लामिछानेले बताए । प्रा.डा लामिछानले पनि अहिलेको समसायिक परिस्थितिमा चिकित्सकहरुले भोग्नुपरेको चुनौति र अवसर सम्बन्धी कार्यपत्र प्रस्तुत गरेक थिए । नेपाल चिकित्सक संघ गण्डकीका प्रथम उपाध्यक्ष डा. राजन शर्मा, उपाध्यक्ष एवं दन्तरोग विशेषज्ञ डा सुनिल पनेरु, महासचिव डा. कृष्णचन्द्र रिजाल तथा डा. शुशिल तिमिल्सिना लगायतले चिकित्सकहरुलाई आईपर्ने चुनौतिको ’boutमा चर्चा गरेका थिए ।

कार्यक्रममा प्रस्तुत गरिएको कार्यपत्रमाथि दशजना विभिन्न विशिष्ट विज्ञहरुले आफनो राय सुझाव पेश गरेका थिए । पोखरामा ३२ वर्षपछि चिकित्सकहरुको राष्ट्रिय सम्मेलन आयोजना भएको हो । २०४४ सालमा पोखरामा पहिलो पटक चिकित्सकहरुको राष्ट्रिय सम्मेलन आयोजना गरिएको थियो । हाल नेपाल चिकित्सक संघमा २५ हजार चिकित्सक आवद्ध छन् ।

Comments are closed.