१६ करोड रुपैयाको लागतमा पोखरामा सैनिक अस्पताल सञ्चालन

पोखरा, १४ फागुन / नेपाली सेनाका हिताधिकारीका लागि लक्षित गरि निर्मित अस्पताल बुधबारदेखि सञ्चालनमा आएको छ ।

सैनिक कल्याणकारी कोषको १६ करोड रुपैयाको लागतमा निर्मित सैनिक अस्पतालको प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे । नेपाली सेनाको भगवती गण दल फुलवारी ब्यारेकको हातामा लगभग साढे चार रोपनी जग्गामा निर्मित दुई तल्ले भवन सहितको अस्पताल ५० शैया क्षमताको छ ।

नेपाली सेनामा कार्यरत एवम् भूतपुर्व सेनाका आश्रित परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने उक्त अस्पतालमा आकस्मिक सेवा, प्याथोलोजी, अल्ट्रासाउण्ड, एक्स–रे, सहित औषधि वितरण कक्ष, भौतिक चिकित्सा र जनरल ओ.पि.डी सेवा रहेका छन् ।

त्यस्तै मेडिकल सघन उपचार केन्द्र, आइसोलेसन वार्ड, बालरोग, पुरुष, महिला, प्रसुती, पोष्ट अपरेटिभ वार्ड सहित प्रसुती शल्यक्रिया कक्ष, सर्जिकल शल्यक्रिया केन्द्र र मुख्य ओ.टी. सेवा सञ्चालन गरिएको छ । नवनिर्मित अस्पतालको निरीक्षण पश्चात प्रधान सेनापति थापाले अस्पताललाई सुविधा सम्पन्न र व्यवस्थित गरिदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

अस्पताल सञ्चालनसँगै गण्डकी प्रदेश अन्तर्गतका नेपाली सेनामा कार्यरत एवम् पूर्व भुतपूर्व सेनाका आश्रित परिवारलाई सर्वसुलभ स्वास्थ्य सेवा पुग्ने विश्वास व्यक्त गर्दै उनले यसबाट लक्षित वर्गले भरपुर उपयोग लिनु पर्नेमा जोड दिए । अस्पतालका प्राविधि प्रमुख सेनानी डा. आरजु चन्द्र सिंहका अनुसार अस्पतालमा हाल बिभिन्न बिषयका चिकित्सक सहित ७७ जना कर्मचारीको व्यवस्था भई सकेको छ ।

अस्पताल सञ्चालनसंगै गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्लाका २० हजार भन्दा बढी सेना र आश्रित परिवारलाई सुविधा पुग्ने विश्वास व्यक्त गर्दै उनले नेपाली सेनाले यसअघि ६३५ शैयाको सैनिक अस्पताल छाउनी र ५० शैयाको नेपालगञ्ज अस्पताल सञ्चालन भई सेकेका छन् भने इटहरीमा ५० शैयाको अस्पताल सञ्चालनको तयारीमा रहेको जानकारी दिए ।

कमेन्टहरु
Loading...