पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कर्मचारी आन्दोलनमा

पोखरा, २८ जेठ/पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) आईतबारदेखि अस्पतालमा कार्यरत कर्मचारीले आन्दोलन होमिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुले आईतबार अस्पतालको सुधार गर्नुपर्ने खाँचो औंल्याउँदै हातमा कालोपट्टी लगाएर आन्दोलन शुरु गरेका हुन् । तीनदिन जेठ २९ गतेसम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने उनीहरुले जनाएका छन् । त्यसपछि जेठ ३० गते लायन्स पार्कमा जम्मा भई एक घण्टा सेवामा नजाने निधो समेत गरेका छन् ।

प्रतिष्ठान कर्मचारीले २०६४ सालमा अस्थायी करारमा रहेको २ सय ९९ जना कर्मचारी मध्ये १ सय ४ जनालाई मात्रै स्थायी बनाईएकोप्रति गुनासो गर्दै आएको छ । बाँकी स्थायी नहुदाँ कर्मचारीको काम गर्ने मनोबल नै घटेको युनियनका अध्यक्ष डा.ढाकाकुमार श्रेष्ठले बताए । २०४२ सालमा अस्पतालमा छिरेका कर्मचारी लामो समय वित्दा समेत समान तहमै कार्यरत छन् ।

स्थायीको मागसहित अस्पताल सुधार गर्न तीनपटक प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुर थापालाई पेश गरेपनि सुनुवाई नभएपछि हातमा कालोपट्टी बाँधेर काम गर्दै आन्दोलन शुरु गरिएको युनियनका अध्यक्ष श्रेष्ठले बताए । उनले दशमहिनादेखि बिग्रिएको सिटी स्क्यान मेशिन मर्मत गर्नुपर्ने, शल्यक्रियाको लागि आवश्यक टेवल थप्नुपर्ने, आईसियुमा बेड थप्नुपर्ने लगायतका मागहरु उठाइएको बताए ।

‘अस्पतालमा विरामीले सहज उपचार पाउनुपर्छ’ उनले भने–तर क्षेत्रीय अस्पतालमा विरामीले घण्टौ कुरेर मात्रै उपचार पाउने गरेका छन ।’ उनका अनुसार अस्पतालको फार्मेसीमा सर्वसुलभ औषधीको अभाव छ । औषधी लिन जादाँ घण्टौ कुुर्नुपर्ने बाध्यता छ । काउन्टरमा शुल्क बुझाउन जादाँ पनि उस्तै लाईनमा बस्नुपर्छ । अल्ट्रसाउण्ड, प्रयोगशाला जतासुकै लाईन बस्नुपर्ने पीडा विरामीले भोग्दै आएको उनको गुनासो थियो । यो समय विरामीको चाप बढ्ने सिजन हो । मौसमी विरामीको चाप बढ्दै गएको छ । प्रयोगशालामा सबैखाले परीक्षण समेत नहुने उनको भनाई छ । केही समय अघि मात्रै झण्डै एक करोडको लागतमा उपकरण थप्दै सबैखाले परीक्षण गर्ने प्रतिष्ठानले दावी समेत गरेको थियो

अस्पतालमा आयस्रोतलाई समेत सदुपयोग हुन नसकेको गुनासो छ । विद्यार्थीबाट आउने शुल्क, विदेशीले इन्टर्न गर्न आउने शुल्क, पोष्टमार्टमको शुल्कलाई प्रतिष्ठानले सदुपयोग गर्दै सुधारको काममा खर्च गर्नुपर्ने कर्मचरी युनियनले उठाएको छ । सरकारले क्षेत्रीय अस्पताललाई ५ सय बेड क्षमताको स्वीकृति प्रदान गर्दै स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा रुपान्तरण गरेको हो ।

माग बारे सुनुवाई नभए कर्मचारीहरुले असार ३ गतेदेखि नयाँचरणका आन्दोलनका कार्यक्रम थालनी गर्ने बताएका छन् । मागको विषयमा सम्बोधन गर्ने पक्षमा रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले बताए । लामो समयदेखि अस्थायी रहेको कर्मचारीलाई स्थायी गर्ने विषयमा प्रतिष्ठानले लोकसेवा आयोगसँग समेत परामर्श गरेको उनको भनाई थियो । उनका अनुसार स्वास्थ्य नियमावली अनुसार लोकसेवा आयोग समक्ष दुईसाता अघि नै परिमार्जन गर्नुपर्ने आवाज सहितको पत्रचार गरिएको छ ।

कमेन्टहरु
Loading...