न्यू ग्यालेक्सीमा निशुल्क स्वास्थ्य शिविर

पोखरा, ४ पुष /न्यू ग्यालेक्सी इंगलिस सेकेण्डरी स्कूलमा निशुल्क स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको छ ।विद्यालयको रजत जयन्तीको अवसरमा भूपू विद्यार्थी मञ्चको संयोजनमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।विद्यालयको एक दिन छिमेकीको निशुल्क स्वास्थ्य सेवामा भन्ने उद्घोषका साथ आयोजना गरिएको उक्त स्वास्थ्य शिविरमा दात, आँखा, दिसा पिसाव जाँच, जनरल, विएमटी टेस्ट गरिएको थियो ।

स्वास्थ्य शिविरमा विद्यालय आसपासका छिमेकी, अभिभावक, विद्यार्थी गरी १ हजार पाँच सय जनाले स्वास्थ्य परिक्षण गराएका विद्यालयका सह प्राचार्य राजेश भण्डारीले जानकारी दिए ।शिविरमा रक्त सञ्चार केन्द्र, आखाँ अस्पताल घारिपाटन, मिराकल डेण्टल केयर, सफलता नेपालले प्राविधि सहयोग गरेका थिए ।शिविरकै अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वतन्त्र ज्ञान मार्ग महिला समूहकी अध्यक्ष रमा सिकेले विद्यालयले सामाजिक क्षेत्रमा उदाहरणिय काम गरेको बताईन् ।विद्यालयले यो वर्षलाई रजत वर्षको रुपमा मनाउन विविध कार्यक्रमको आयोजन गरेको छ ।विद्यालयका प्रमुख संरक्षक तथा सञ्चालक समिति अध्यक्ष डा।राधेश्याम कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य डा।रामजी शर्माले स्वागत र विद्यार्थी संयोजक धु्रवबहादुर श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...