डाक्टरको आन्दोलनलाई भगवान भन्दै समर्थन गर्नेहरु नर्सको आन्दोलनलाई जनता ठग्नेहरु भन्ने ?

कमला लुइटेल

आज तपाईंहरुले देख्नु भयो थुप्रै नर्सहरु सेतो पोशाकमा मुख अनि हातमा कालो पट्टि बाँधेर सडकमा निस्केका। तपाईलाई लाग्न सक्छ, सेतो पोसाकमा कालो पट्टि बाँधेर नर्सहरु सडकमा किन ? अनि तपाईलाई यो पनि लागेको हुन सक्छ यो सब के का लागि ? अनि कतिलाइ लागेको होला बिरामीको सेवा गर्न छोडेर यो के–को नाटक ? तर यो सब ती सेता पोशाकधारी नर्सहरुको रहर होइन बाध्यता हो।

गत साउनमा मानव अङ्ग प्रत्यारोपण केन्द्रमा विगत ६ वर्षदेखी कार्यरत नर्सिङ कर्मचारी त्रजिना जतीलाइ अस्पताल व्यवस्थापनले विनाकारण निष्कासन गरेको थियो। त्रजिना जतीको गल्ती भनेको व्यवस्थापनले आफ्नो मनोमानी ढंगले कर्मचारी भर्ना गर्ने , शेसन बेसिसमा काम गर्ने तथा भोलेन्टिएरको रुपमा काम गरिरहेका कर्मचारीहरु सजना देउला र सपना देउला माथि भएको अत्याचारको विरुद्ध आवाज उठाउनु नै रहेको व्यवस्थापनको ठम्याइ थियो। काम गरेको केही समयअघि सम्म अस्पतालको उत्कृष्ट कर्मचारीको उपाधि पाएकी त्रजिना निकालिएको दिनदेखी अनुशासनहिन कर्मचारी रहेको व्यवस्थापनले बताउँदै आयो।

नर्सको आन्दोलन

वास्तवमा यो एउटा नर्सको मात्र समस्या नभइ यो देशमा रहेका हजारौं स्वास्थ्यकर्मीको समस्या हो। त्रजिना, सजना अनि सपना त एउटा प्रतिनिधि पात्र मात्र हुन् । यहाँ च्याउ सरि खुलेका स्वास्थ्य संस्थाहरुले आफ्ना कर्मचारीमाथी थुप्रै शोषण र दमन गरेका छन् । कुरा यती मात्र फरक हो कि ती बहिनीहरुले बाहिर न्यायका लागि आवाज उठाउने साहश गर्न सके तर अरु अझ नि मौन छन् ।

आज माइतीघर मण्डलाबाट स्वस्फूर्त रुपमा निस्केको जुलुसले होस् या अस्पतालहरुमा नानको आह्वानमा भइरहेका आन्दोलन देख्दा के आभास भएको छ भने हाम्रा स्वास्थ्यकर्मी साथीहरू आफ्ना पिडालाई बाहिर ल्याउन आतुर छन् । लाखौं खर्च गरेर पढेका नर्स तथा अन्य प्राबिधिक कर्मचारीहरु आज मासिक ५,००० रुपैंयामा काम गर्न बाध्य छन्। नर्सिङ पेशा आज बिदेश पलायनको अग्र भागमा देखिएको छ, तर यो उनिहरुको रहर होईन बाध्यता हो ।

नर्सको आन्दोलन

भोलेन्टिएरको रुपमा काम गर्नुपर्ने, कम तलबमा काम गर्नुपर्ने आजको बाध्यता हो। आफुले निको पार्नुपर्ने बिरामीलाई हेर्न छोडेर काम छोड्दा कुनै पनि स्वास्थ्यकर्मीको मन खुसी हुदैन। हुन त यहाँ सेतो कोट लगाउनेको बीचमा पनि अरुले हेर्ने नजर फरक छ। एकजना व्यक्ति जसले डाक्टरको आन्दोलनलाई भगवान भन्दै समर्थन गरेका थिए उनले नै नर्सको आन्दोलनलाई जनता ठग्नेहरु भनेर आफ्ना फेसबुकको भित्तामा लेखिरहँदा पनि हामी छुट्टाउन सक्छौ कि मान्छेहरुको सोचाइलाई । प्रश्न गर्न चाहन्छु, स्वास्थ्य क्षेत्रमा भएको विकृतिविरुद्ध डाक्टरको आन्दोलनलाई भगवान भन्दै समर्थन गर्नेहरु नर्सको आन्दोलनलाई जनता ठग्नेहरु भन्ने ?

आज मानव अङ्गमा भएको अन्यायमा न्याय दिने लडाइँमा हिडेकै कारण नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष चन्द्र थापाविरुद्द अस्पताल व्यवस्थापनले मन्त्रालयमा मुद्दा हालेको छ। त्यस्तै विनाआधार डाक्टर पुकारचन्द्र श्रेष्ठले युनियन संग सम्बद्ध व्यक्तिहरुलाई माफिया तथा बिरामी बाहिर पठाउन सक्रिय गिरोह भएको आरोप लगाउँदै छन् । यसबाट नै थाहा हुन्छ कि उनी कस्तो मनस्थितिका व्यक्ति हुन् भनेर ? व्यवस्थापनको अनावश्यक टर्चर , स्वास्थ्य मन्त्रालयको दोषीलाई नै जोगाउने खालको प्रतिवेदनको कारण त्रजिना जती र सजना देउला बिरामी भएर अस्पतालको शैयामा छन्।

अस्पताल व्यवस्थापनले अहिले पनि राजनितिक र गैरराजनितिक शक्ति लागाएर यो आन्दोलनलाई दबाउन खोज्दै छ। स्वास्थ्यमन्त्रीज्युले पनि यो आन्दोलनलाई एक जना नर्सको लागि भएको आन्दोलन देख्नु भएको छ। तर मानव अङ्ग प्रत्यारोपण केन्द्र त एक देखिएको दाँत मात्र हो , यहाँ हजारौं त्यस्ता स्वास्थ्य संस्था छन् जहाँ दिनहुँ हजारौं स्वास्थ्यकर्मी पीडित भैरहेका छन् , शोषणमा परिरहेका छन्।

यस सम्बन्धमा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन जिफन्टले सुरु देखि नै पीडितहरुलाइ न्यायको लडाइँमा साथ दिदै आएको छ। आज नर्सिङ संघले यीनै विषयलाई उठान गर्दै ११ बुँदे माग राख्दै चरणबद्द आन्दोलन सुरु गरेको छ। जसलाइ नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले एक्यबद्धता जनाएको छ र आफ्ना सम्पूर्ण सदस्यहरुलाइ आन्दोलन सफल पार्नका निम्ति सहयोग गर्न अनुरोध गरेको छ। अहिले उनीहरुको लडाइमा नेपाल नर्सिङ संघ, वाइ नान , एन्टिकरप्सन तथा अन्य स्वास्थ्य सँग सम्बन्धीत संस्थाहरुले साथ दिएका छन्।

किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्र लगायतका पछिल्ला घटनाबाट नि थाहा हुन्छ कि अहिले स्वास्थ्यसंस्थाहरुमा कर्मचारीहरु कति पीडित छ्न भनेर। अन्त्यमा यो भन्न चाहन्छु, जस्तो सुकै लान्छना लागोस् , जो सुकैले यो विकृति विसङगतीलाई साथ देउन् या नदेउन्, नेपाल स्वाथ्यकर्मी तथा कर्मचारी युनियन न्यायको लडाइँबाट कहिल्यै पछि हट्ने छैन। स्वास्थ्य क्षेत्रमा भैरहेको विकृति हटाउन हामी सदैव लागि पर्ने छौं।

(लेखक​ नेपाल स्वाथ्यकर्मी तथा कर्मचारी युनियनकी केन्द्रिय​ महासचिव हुन् )

कमेन्टहरु
Loading...