पोखरामा लिंग पहिचान गरी गर्भपतन, छोरा भए ११ हजार, छोरी भए ६ हजार

गोविन्द सुवेदी
पोखरामा डाक्टरले चर्को शुल्क लिएर भ्रुणको लिंग पहिचान गरी गर्भपतन गराउने गरेको खुलेको छ । भ्रुणको लिंग पहिचान गर्नु कानुनी रूपमा दण्डनीय भए पनि नाम चलेकै अस्पतालबाट यस्ता काम हुने गरेको छ । निजी स्वास्थ्य संस्थामा अल्ट्रासाउन्ड गर्दा हजारदेखि ११ सयसम्म लाग्नेमा भु्रणको पहिचान गर्दा रेडियोलोजिस्ट डाक्टरले ६ देखि १२ गुणासम्म बढी शुल्क असुल्ने गरेका छन् । छोरी भए थोरै र छोरा भए धेरै रकम लिने गरेका छन् ।

महिला तथा बालबालिका कार्यालय कास्कीका सेवा निवृत्त प्रमुख महिला विकास अधिकृत लक्ष्मी जिसी कार्कीले कास्कीमा लिंग पहिचान र गर्भपतनको अवस्था विकराल रहेको बताइन् । यसमा कार्यरत केही डाक्टरलाई भेला गरेरै आफूले लिंग पहिचान नगर्न आग्रह गरेको उनले सुनाइन् । महिलाहरूले गुनासो गर्ने भए पनि आधिकारिक प्रमाण नहुँदा कारबाही गर्न नसकेको उनको भनार्इ छ ।

पहिलो सन्तान छोरी जन्माउनेले दोस्रो सन्तान छोरा जन्माउन चाहँदा त्यसको फाइदा अस्पताल र डाक्टरले उठाउने गरेका छन् । छोरा चाहिन्छ भन्ने समाजिक मनोविज्ञानका कारण दबाब वा स्वयं गर्भवती महिलाले नै भ्रुणको लिंग पहिचान गर्न चाहेको पाइएको छ । एक अस्पतालका कर्मचारीले भने, ‘महिला अधिकारवादीदेखि समाजमा राम्रै प्रभुत्व राख्नेहरूसम्मले पहिलो सन्तान छोरी जन्माएपछि दोस्रो सन्तान जन्माउनुअघि अनिवार्य भ्रुणको लिंग पहिचान गराउने गरेको पाएको छु ।’ एउटै महिलाले धरैपटक भ्रुण पहिचान गर्दै गर्भपतन गराउने गरेको उनले सुनाए ।

थाहा नपाएझैँ गर्छ अस्पताल प्रशासन

पोखरामा केही अस्पतालमा यसरी भ्रुण पहिचानका लागि गर्भवती महिलाको भिड नै लाग्ने गरेको छ । यो भिड अल्ट्रासाउन्डकै लागि मात्र नभई भ्रुणको लिंग पहिचानका लागि भएको जानकारी पाए पनि व्यापार बढेकोमा प्रशासन मौन बस्ने गरेको छ । अस्पतालमा कार्यरत कर्मचारी भन्छन्, ‘अस्पताल प्रशासनले त्यसरी बार्गेनिङको आधारमा लिएको रकमको हिस्सा मागेको थाहा छैन, तर व्यवसाय बढेको विषयमा मख्ख परेको भन्न सकिन्छ ।’

यस्तो छ बार्गेनिङ गरेपछिको शुल्क

अस्पतालले लिएको वैधानिक अल्ट्रासाउन्ड शुल्क १ हजार ५० रुपैयाँ बिल दिने गरेका छन् । लिंग पहिचान गरेकामा बार्गेनिङ गरेर रेडियोलोजिस्ट डाक्टरले छोरा भए ११ हजार, छोरी भए ६ हजार दिनुपर्ने बार्गेनिङ गर्छ । सम्बन्धित स्त्रीरोग विशेषज्ञसँग देखाउन अस्पतालले टिकटको शुल्क ५ सय रुपैयाँ, अस्पतालकै स्त्रीरोग विशेषज्ञले गर्भपतनका लागि बार्गेनिङका आधारमा लिएको रकम २५ हजार लिने गरेका छन् । लिंग पहिचान गरेर गर्भपतन गराउने काम गैरकानुनी भएकाले गर्ने र गराउनेबीच जति नै लेनदेन भए पनि यसलाई गुपचुप राख्ने गर्दछन् ।

छोरीभन्दा छोराको संख्या धेरै

महिला तथा बालबालिका कार्यालय कास्कीका सेवानिबृत्त प्रमुख महिला विकास अधिकृत लक्ष्मी जिसी कार्कीका अनुसार कास्कीमा लिंग अुनपात अहिले १ सयजना महिला बराबर १ सय ५० जना पुरुष छ । यहाँ प्रत्येक २ छोरी जन्मँदा ३ छोरा जन्मेका हुने उनले बताइन् । ‘पहिचान गरेर छोरी भए गर्भपतन गर्ने गरेका कारण यस्तो अवस्था आएको हो,’ उनले भनिन्, ‘यस्तो अवस्था आए कास्केलीले भोलि छोरालाई बुहारी पाउनसमेत मुस्किल पर्ने देखेकी छु ।’

पटक–पटक गर्भपतन गराउँदा महिलामा पाठेघर खस्ने, पाठेघरको मुखमा क्यान्सर हुने, बच्चा नजन्मनेलगायतका समस्या देखिएका छन् । गर्भपतनका जटिलताका कारण रोग लाग्ने मात्र नभएर पारिवारिक जीवन बिग्रने, आत्महत्या गर्ने अवस्थामा पुग्ने गरेको उनको भनाइ छ ।

गर्भपतनसम्बन्धी यस्तो छ व्यवस्था

नेपालमा सुरक्षित गर्भपतन सेवा ०६० सालमा लागु भएको हो । गर्भवती महिलाको ज्यान खतरामा पर्ने, विकलांग बच्चा जन्मने वा गर्भवती महिलाको गर्भकै कारण शारीरिक र मानसिक स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएमा स्वीकृत चिकित्सकले राय दिए सम्बन्धित महिलाको मञ्जुरी लिएर गर्भपतन गर्न सकिने कानुनी व्यवस्था छ । महिलाको प्रजनन अधिकार संरक्षणसँगै अनिच्छित गर्भ तुहाउन पाउने कानुनी व्यवस्था छ । स्वीकृत स्वास्थ्य संस्थाबाट १२ हप्तासम्मको गर्भ पतन गर्न पाइन्छ । यसरी गर्भपतन गराउने संस्था परिवार स्वास्थ्य महाशाखाबाट स्वीकृति लिएको हुनुपर्छ । गर्भवती महिलालाई हुने जोखिम, हाडनाता करणी र जबर्जस्ती करणीजस्ता घटनाबाट गर्भ रहेमा १८ हप्तासम्मको गर्भपतन गराउन पाउँछन् ।

पोखरामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाहेक अरू अस्पताललाई १२ हप्तापछिको गर्भपतन गर्ने अधिकार नदिइएको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख डा। दिनेशकुमार चापागार्इंले बताए । उनले भने, ‘परिवार स्वास्थ्य महाशाखाबाट स्वीकृत स्वास्थ्य संस्था मात्र होइन यसरी गर्भपतन गराउने डाक्टरले पनि स्वीकृति पाएको हुनुपर्छ ।’ उनका अनुसार भ्रुणको लिंग पहिचान गरेर गर्भपतन गराएको पाइए गराउने चिकित्सकको लाइसेन्स मेडिकल काउन्सिलले खारेज नै गरिदिन्छ । भ्रुण हत्याको मुद्दामा चिकित्सक, गर्भपतन गराउने महिला र लगाउने सबैलाई जेल सजाय हुन्छ । कानुनअनुसार २१ हप्ताभित्रको गर्भपतन गराउनेलाई १ वर्ष, २५ हप्ताभित्रको गर्भपतन गराउनेलाई ४ वर्ष र २५ हप्ताभन्दा पछि गर्भपतन गराउनेलाई ५ वर्ष कैद सजायको व्यवस्था छ ।

यसरी हुन्छ बार्गेनिङ

पोखराका केही स्वास्थ्य संस्था भ्रुणको लिंग पहिचान र गर्भपतनका लागि निकै नाम चलेका छन् । अल्ट्रासाउन्डको सुविधा भएका त्यस्ता अस्पतालमा स्त्रीरोग विशेषज्ञसँग परामर्श नै नलिई गर्भवती महिला लिंग पहिचानका लागि पुग्ने गरेका छन् । अल्ट्रासाउन्डको टिकट लिएपछि रेडियोलोजिस्ट डाक्टरसँग बार्गेनिङ हुने गरेको छ । सुरुमा डाक्टरले आनाकानी गरेजस्तो गरी ‘बार्गेनिङ पावर’ बढाउने गरेका छन् । छोरी जन्माउन नचाहने बाबु–आमा यस्ता डाक्टरलाई जसरी पनि पहिचान गरिदिन आग्रह गर्छन् र चर्को शुल्कमा लिंग पहिचान गरिन्छ । स्रोतः नयाँपत्रिका दैनिक

कमेन्टहरु
Loading...