मृत्यु भएको भन्दै अस्पताल तोडफोड गरेका बिरामी निको भएर घर फर्किए

चितवन, २४ असार/ उपचारका क्रममा मृत्यु भएका भनिएका व्यक्ति मंगलबार निको भएर घर फर्किएका छन् । चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले अस्पताल तोडफोड गरेका थिए ।

भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भएपछि मंगलबार अस्पतालबाट घर फर्किएका हुन् । एपेन्डिसाइटिसको शल्यक्रिया गरेका विकलाई समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । सोही समयमा निजको मृत्यु भएको भन्दै हल्ला भएसँगै उनका आफन्तले अस्पतालमा तोडफोड गरेका थिए ।

तोडफोडबाट अस्पतालको सघन उपचारकक्षको झ्यालका सिसा फुटेका थिए । तोडफोड गर्नेलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको थियो । उपचारपछि डिस्चार्ज हुने क्रममा विकले आफूले नयाँ जीवन पाएको बताए ।

अस्पतालको अथक प्रयासपछि आफ्नो छोरोले नयाँ जीवन पाएको भन्दै उनका बुबा केदारले अस्पताल प्रति धन्यवाद दिए । अस्पताल तोडफोडका विषयमा परिवार संलग्न नभएको उनले बताए ।

एपेन्डिसाइटिसको उपचारका लागि जेठ २७ गते चितवन मेडिकल कलेज उपचारका लागि ल्याइएको थियो । उनको जेठ २९ गते मृत्यु भएको भनी अस्पतालमा तोडफोड गरिएको थियो ।

अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले एपेन्डिसाइटिस बिग्रिएर आन्द्राले काम गर्न छोडेकामा उपचारपछि निको भएर घर जान लागेको बताए ।

कमेन्टहरु
Loading...