पोखरामा डेंगु फैलियो, यस्ता हुन्छन् डेंगुका लक्षण

पोखरामा केही समयदेखि फैलिएको डेंगु रोगको संक्रमण झन् फैलिएको छ । सोमबार साँझसम्म १ सय १९ जनामा डेंगु संक्रमण देखिएको बताएको छ ।

दुई साता अघि २१ जनामा देखिएको डेंगुको संक्रमण बढेर १ सय १९ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयका सूचना अधिकारी डा.भोजराज गौतमले बताए ।

पोखरा महानगरपालिकाका ८ र ९ वडाहरुमा मात्रै ६० जनाभन्दा बढीमा डेंगुको संक्रमण देखिएको छ ।

‘दैनिक जसो डेंगुका बिरामीहरुको संख्यामा वृद्धि हुँदै गएको छ,’ उनले भने, ‘पोखरा क्षेत्रमा यस वर्ष हालसम्म १ सय १९ जनामा डेंगुका बिरामी भेटिएका छन् ।’

पोखराका विभिन्न अस्पतालमा उनीहरुको उपचार भइरहेको डा.गौतमले बताए । ‘

पोखराका विभिन्न अस्पतालमा झुलसहित छुट्टै कोठामा राखेर उच्च निगरानीका साथ डेंगुका बिरामीको उपचार भइरहेको उनले दाबी गरे ।

क्रमितहरुको गण्डकी मेडिकल कलेज (जिएमसी), फेवा सिटी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगायतका ठाउँहरुमा उपचार भइरहेको डा.गौतमले बताए । ‘पोखरामा गत वर्ष डेंगुको टाइप–२ भाइरस देखिएको थियो ।

अहिले उनीहरुको रगतको सेरोटाइप जाँचमा १ सय १ जनाको पोजेटिभ आएको छ । ‘टाइप १ देखि टाईप ४ सम्म डेंगु भाइरस हुन्छ १ र २ नर्मल हुन्छ भने टाईप ३ र ४ खतरा हुन्छ ।’

लामखुट्टेको वृद्धि र संक्रमण गराउने उपयुक्त मौसम भएका कारण पोखरामा डेंगु संक्रमणको उच्च जोखिम अझै रहने बताउँदै उनले सावधानी अपनाउन सबैलाई आग्रह समेत गरेका छन् ।

लामखुट्टेको बासस्थान नै नष्ट पार्नु डेंगुको प्रमुख रोकथाम भएको उनको भनाई छ । कास्की बाहेक गण्डकी प्रदेशका स्याङजाका दुई जनामा र तनहुँका एक जनामा डेंगु पोखरा आउँदा भेटिएको डा. गौतमले बताए । यस वर्ष भने प्रदेशका अन्य जिल्लामा हालसम्म डेंगुका बिरामी नभेटिएको उनले बताए ।

डेंगु के हो ?

डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो । एडिस लामखुट्टेले माीनसलाई दिउँसो मात्र टोक्ने गर्दछ । डेंगु रोग मानिसबाट मानिसमा सिधैं सर्दैन ।

सो प्रजातिको लामखुट्टेले सफा पानी जमेको ठाउँमा साना साना स्थानहरुमा फुल पार्दछ । खासगरी वर्षाको पानी जम्ने स्थान, पानी जम्ने टिनका डब्बा, टायर, ड्रमहरु, फुलदानी र गमला लगायतका स्थानमा यसले फुल पार्दछ । वर्षातको आगमनसँगै जताततै पानी जम्न थालेपछि सो रोगको संक्रमण फैलिने गर्दछ ।

२० देखि ३० डिग्री सेल्सियस तापक्रम लामखुट्टेलाई उपयुक्त हुने हुँदा अत्यधिक फूल पार्ने गर्दछन् । पोखराको तापक्रम अहिले त्यस हाराहारीमै हुँदा संक्रमणको बढेको स्वास्थ्य निर्देशनालयका डा.गौतम बताउँछन् ।

कसरी सर्छ डेंगु ?

रोगबाट बच्न एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट बच्नु पर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । डेंगु रोग नियन्त्रणको प्रमुख उपाय लामखुट्टेको लार्भा र प्यूपा बस्ने बासस्थान नष्ट गर्नु नै रहेको जानकारी डाक्टर गौतमले दिए ।

‘डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो । यो जातको लामखुट्टेले दिनमा मात्र टोक्ने गर्छ’ डाक्टर गौतमले भने, ‘भाइरसबाट सर्ने यो रोगको खोप तथा खास उपचार छैन ।’

डेंगुको प्रकोप देखिएपछि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयले सरकारी तथा निजी अस्पतालबाट प्रत्येक दिन त्यस्ता रोगीको तथ्यांक लिने र लामखुट्टे धपाउने अभियान सुरु गरिसकेको छ ।

निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले पोखराका नगर क्षेत्रमा लामखुट्टेको बासस्थान खोज, नष्ट गर्ने र सचेतना अभियान सञ्चालन भइरहेको बताए ।

उनका अनुसार मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज (जिएमसी) का मेडिकलमा अध्ययनरत विद्यार्थीहरुसहितको टोलीले पोखरा–८ र ९ लगायका स्थानहरुमा लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चाालन गरिरहेको बताए ।

यस्ता छन् डेंगुका लक्षण र बच्ने उपाय

डेंगु लागेपछि देखिने लक्षणमा उच्च ज्वरो आउने, जीउ दुख्ने, जोर्नी तथा हाडहरु बेस्सरी दुख्ने, आँखाको गेडी वरपर दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, खाना खान मन नलाग्ने, छालामा रगत जमेको धब्वाहरु देखा पर्ने, नाक, गिँजा र शरीरका अन्य अंगबाट रगत बग्न लगायतका चिन्ह र लक्षणहरु देखापर्ने डाक्टर गौतम बताउँछन् ।

डेंगु ज्वरो विषाणुको कारणबाट हुने भएकाले यसको खासै उपचार छैन । डेंगु ज्वरोबाट हुनसक्ने जटिलताबाट बच्न तुरुन्त स्वास्थ्य जाँच र उपचारका लागि स्वास्थ्य संस्थामा जानुको विकल्प छैन ।

लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय हो । त्यसका लागि दिउँसोको समयमा अनावश्यक रुपमा नाङ्गो जीउ बाहिर ननिस्कने, जमेको पानीमा यो जातको लामखुट्टले फुल पार्ने भएकाले आफू बस्ने वरिपरी फालिएका खाली बोत्तल, अलकत्रा तथा मट्टीतेलका खाली ड्रमहरु, पुराना टायर लगायतमा पानी जम्न नदिने, पानीट्यांकीमा लामखुट्टे बस्न नदिने, गमलामा पानी जम्न नदिने, भाँडामा पानी जम्न नदिई घोप्ट्याएर राख्ने, लामखुट्टे टोकाइबाट बच्न मल्हम लगाउन चिकित्सकले सल्लाह दिएका छन् ।

कमेन्टहरु
Loading...