दरबन्दी अनुसार चिकित्सक नहुदाँ ‘परीक्षणमा कम्प्रोमाईज’

पोखरा, ४ साउन/ स्वास्थ्य क्षेत्र सम्वेदनशिल हो । सम्वेदनशिल क्षेत्रमा पनि कम्प्रोमाईज गर्नुपर्ने बाध्यता छ । प्रतिष्ठानमा आवश्यक जनशक्ति छैन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) का चिकित्सकले परीक्षणमा कम्प्रोमाईज गर्दै जाँच गर्नुपर्ने परिस्थिति छ । जनशक्तिकै अभावले विरामीलाई दिईने क्वालिटी सेवामा कम्प्रोमाईज गर्नुपर्ने बाध्यता रहेको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्य बताउँछन् ।

चिकित्सक दरबन्दी केवल १४० भन्दा कम छ । सरकारी दरबन्दीका चिकित्सक एकसय र बाँकी अस्पताल व्यवस्थापन समितिका दरबन्दीका छन् । तिनै चिकित्सकहरुले दैनिक १४ सय विरामीलाई स्वास्थ्य सेवा दिईरहेका छन् । ‘एउटा चिकित्सकले सामान्यत ३० देखि ४० जना विरामी हेर्नुपर्ने प्रावधान छ’ उनले भने–‘तर अस्पतालमा चिकित्सकले १५० विरामी भन्दा बढीको स्वास्थ्य जाँच गर्नुपर्ने अवस्था छ ।’ विरामीको चापले क्वालिटी सेवामा कम्प्रोमाईजको अवस्था आईपरेको उनको गुनासो थियो । सरकारले स्वास्थ्यको अनिवार्य विमाको योजना अघि सार्यो ।

विमाले विरामीको स्वास्थ्यप्रतिको चेतना बढाईदिएको छ । विमाले विरामीहरु अस्पतालमा पुगेर सामान्य जाँच भएपनि गर्ने प्रवृत्ति बढेको उनले अनुभव सुनाए । ‘स्वास्थ्य विमा गर्ने सर्वसाधारणको संख्या बढेको छ ’ उनले भने–‘त्यसले गर्दा नियमित स्वास्थ्य परीक्षणदेखि दीर्घरोगीहरु आउने गरेका छन् । जनशक्तिले नभ्याउँदा जेनतेन सेवा दिईएको छ ।’ उनका अनुसार स्वास्थ्य विमा गरेको सर्वसाधारण ५ सय भन्दा बढी दैनिक उपचारको लागि आउने गरेका छन् ।

नियमित स्वास्थ्य परीक्षण एवं औषधी सेवन गर्ने, सुगर, प्रेसरका रोगीहरु बढी आउने गरेका छन् । सबै उमेरका सर्वसाधारणले स्वास्थ्य विमा गरेर उपचारको लागि आउने गरेका छन् । ‘विमाको योजना नहुदाँ विरामीको चाप खासै बढी थिएन् ।’ उलने भने–‘अहिले विमाको योजनापछि विरामीको संख्या ह्वात्तै बढेको छ ।’ विरामीको संख्या बढेपनि दरबन्दी नबढ्दा पुरानै दरबन्दी अनुसार नै सेवा दिनुपर्ने बाध्यताले गुणस्तरीयतामा ध्यान दिन सकिएको छैन् ।

बहिरंग सेवामा मात्रै १० जना भन्दा बढी चिकित्सक चाहिन्छ । तर प्रतिष्ठानमा ३ जना भन्दा पनि कम चिकित्सकले सेवा दिईरहेका छन् । विश्व स्वास्थ्य संगठनको स्टाडण्र्ड अनुसार सरकारले पनि दरबन्दी दिने सम्झौता गरेको छ । सम्झौता केवल कागजमा मात्रै सीमित भएको उनले बताए । ‘सम्झौता अनुसार दरबन्दी उपलब्ध गराए स्वास्थ्यको क्वालिटीप्रति कम्प्रोमाईज हुदैन् ।’ उनको भनाई थियो । दरबन्दीको लागि माग गरिएपनि खासै सुनुवाई नभएको उनको ठम्याई थियो ।

चिकित्सकले विशेष गरी विहान ९ देखि ३ बजेसम्म विरामीको स्वास्थ्य जाँच गर्छन् । एउटै चिकित्सकले डेढसय भन्दा बढी विरामी जाच्नुपर्ने अवस्थाले समस्या भएको बताए । ‘चिकित्सकको दिमागले पनि आराम गर्नुपर्छ । चिकित्सक पनि मुनष्य नै हो ।’ उनको भनाई थियो –‘तर अस्पतालमा रेष्ट गर्ने फुर्सद हुदैन् । विरामी जाँच हतारमा गर्नुपर्छ ।’ प्रतिष्ठानमा ६०१ जना स्वास्थ्यकर्मी छन् । ३५० बेड हुदाँको दरबन्दी समेत अस्पतालमा छैन् ।

अहिले ५०० बेडको स्वीकृति छ । बेडको स्वीकृति थपिएपनि पुर्वाधार र जनशक्ति थपिएको छैन् । केवल थपियो विरामीको संख्या मात्रै । अस्पतालमा जनरल मेडिसिन, स्त्री तथा प्रसुति, सर्जरी, हार्डजोर्नी र बच्चा वार्डमा चिकित्सकको खाँचो छ । ‘ती ठाँउमा चिकित्सकाकर्मीको अभावलाई पूर्ति गरिए सेवा अझ प्रभावकारी हुने थियो ।’ उनको भनाई थियो । अस्पताल परिसरमै स्त्री तथा बच्चा वार्डको लागि छुट्टै भवन निर्माणाधिन छ ।

२०१२ सालमा सोल्जर बोर्ड अस्पतालको नाममा शुरुवात भएको अस्पताल २०१९ सालमा जिल्ला अस्पतालमा रुपान्तरण भयो । २०३२ सालमा अञ्चल अस्पताको रुपमा परिणत हुन पुग्यो । २०४९ सालमा सेवा विस्तार गर्दै क्षेत्रीय अस्पतालको रुपमा रुपान्तरण हुदैं १६ जिल्लाको मुख्य अस्पतालको रुपमा परिचित भएको थियो । २०७१ सालमा अस्पतालमा पाँचसय बेड क्षमताको स्वीकृति प्राप्त भएको थियो । तर अहिले ३ सय ५० बेड मात्रै सञ्चालित छ । २०७२ सालमा क्षेत्रीय अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको हो ।

कमेन्टहरु
Loading...