भ्रमण वर्षलाई लक्षित गर्दै पोखरा र काठमाडौंबाट बस सेवा थप

पोखरा, ४ कात्तिक / भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै सोमबारबाट पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले पोखराबाट काठमाडौं र काठमाडौंबाट पोखरालाई १/१ वटा बस सञ्चालन गरेको छ । सोमबार पोखराको लेकसाइडबाट साँझ ७ः३० बजे बा ५ ख ६९६ नम्बरको बसले यो सेवा सुरु गरेको हो । सोमबार २५ जना यात्रु सहित काठमाडौंको लागि छुटेको छ ।

कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसी तथा सल्लाहकार ऐन बहादुर शाहीले यात्रुलाई खादा लगाइदिएर बस सेवाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा कम्पनीका अध्यक्ष केसीले नेपालका हरेक स्थानलाई पर्यटकको रोजाईको स्थान बनाउनका लागि आफूहरुले सक्दो प्रयास गर्ने बताए ।

भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउनका लागि यातायात क्षेत्रको महत्वपूर्ण भूमिका हुने भन्दै उनले यातायात क्षेत्रको सुधारका लागि काम गरिरहेको जानकारी दिएका छन् । ‘नेपालको प्राकृतिक सुन्दरतालाई प्रयोगमा ल्याएर आर्थिक समृद्धिमा सफलता हासिल गर्न सक्नुपर्छ ।’ उनले भने– ‘सामाजिक र आर्थिक रुपान्तरणका लागि भ्रमण वर्ष २०२० सफल हुनु जरुरी छ ।’

हरेक साँझ पोखराको लेकसाइड तथा काठमाडौंको बालाजुबाट साँझ ७ः३० बजेबाट यो सेवा सञ्चालन हुने कार्यक्रममा अध्यक्ष केसीले जानकारी दिएका छन् । अबको केही समयमा अनलाइन टिकट बुकिङ्ग सेवा समेत सञ्चालन गरिने उनको भनाई छ ।

यस्तै संस्थाका सल्लाहकार शाहीले पर्यटकलाई सुरक्षित गन्तव्यमा पु¥याउन यातायात क्षेत्रको भूमिका हुने बताए । यस क्षेत्रको सुधारका लागि आफूहरु लागिरहेको भन्दै भ्रमण वर्षले विश्वमा नेपालका पर्यटन क्षेत्रका विषयमा जानकारी दिनु आवश्यक भएकोमा जोड दिए ।

‘हाम्रो देशमा भएको प्राकृतिक सुन्दरतालाई विश्वमा चिनाउन भ्रमण वर्ष २०२० सफल हुने छ ।’ उनले भने, ‘यसका लागि यातायात क्षेत्र मात्र होइन हरेक क्षेत्रले क्रियाशिलता बढाउनु पर्छ ।’ विश्व पर्यटनमा नेपालको पहिचानका लागि एकजुट हुनुपर्नेमा उनको जोड थियो ।

बस सेवा सञ्चालन भएपनि नेपालको पर्यटन क्षेत्रमा अझै टेवा पुग्ने विश्वास कम्पनीले लिएको छ । साथै भ्रमण वर्ष २०२० सम्पन्न गर्न कम्पनीले हरसम्भव सहयोग गर्ने समेत जनाएको छ ।

कमेन्टहरु
Loading...