साँस्कृतिक पर्व ट्होटें पोखरामा धुमधाम

पोखरा, २६ चैत/ गुरुङहरुको साँस्कृतिक पर्व ‘ट्होटें’ पोखराका गुरुङहरुले विविध कार्यक्रम गरी मनाएका छन् । हरेक वर्षको साउन र चैतको अन्तिम मंगलबार ट्होंटे पर्व मनाउने गरेका छन् ।

ट्होटेंको अवसरमा पोखराको विरौटाबाट ¥याली निकालेर मुस्ताङचोक, पृथ्वीचोक हुदै नयाँबजारस्थित तमु धी भवनमा पुगेर सभामा परिणत भएको थियो ।

ट्होटें पर्व मनाउनाले रोग, ब्यधा हट्ने, प्राकृतिक प्रकोप न्यूनीकरण हुने, खेतीबाली राम्रो हुने, सुख–शान्ति प्राप्त हुने जनविश्वास छ । साथै ट्होटें मनाएमा राक्षस, भूतप्रेत भाग्ने तथा कुसँस्कृति हट्छ भन्ने पनि पुरानो मान्यतालाई निरन्तरता दिदै गुरुङ् समुदायको साझा संस्था तमु धिं नेपालको पहलमा बाजागाजा र झाँकीसहित ¥याली प्रदर्शन गरिएको हो ।

र्यालीमा सहभागी भै भेषभूषा, बाजागाजा तथा झाँकीमा उत्कृष्ट हुनेलाई विभिन्न विधामा पुरस्कृत गरिएको छ । ¥यालीमा पुरुषहरु भाङ्ग्रा, भोटो, आस्कोट, कछाडमा र महिलाहरु छिट्को गुन्यू, टिकिस, घलेक र पटुकामा चिटिक्क सजिएका थिए । केही सहभागीहरुको अनुहार विभिन्न रंगले पोतिएको देखिन्थ्योे भने केहीले रुखका हाँगाबिङ्गाहरुको कपडा लगाएर ढ्याँग्रो ठोक्दै नगर परिक्रमा गरेका थिए ।

गुरुङ्ग भाषमा ‘ट्हो’ को अर्थ राज्य र ‘टे’ को अर्थ धपाउने भन्ने हुन्छ । राज्यबाट शत्रूलाई भगाउनु तथा धपाउनु नै वास्तवमा ट्होटे हो । ग्रामीण भेगमा भने शत्रु तथा भूतप्रेत धपाउने पर्वको रुपमा यो पर्व चर्चित छ ।

आफ्नै जातीय पहिरनमा जोगी तथा झाँक्रीको भेषमा हातमा तरबार, धनुषबाँण, लट्ठी तथा झार बोकेर मुखभरि कालो पोतेर युवाहरु भोटो, कछाडमा सजिन्छन् भने युवतीहरु गून्युचोली, पटुकी र राता चुरापोतेमा हुन्छन् । यता, साना बालबालिकासमेत जातीय पहिरनमा निस्कन रुचाउँछन्, ट्होटे पर्वको अवसरमा ।

यो पर्व कास्की लगायत लमजुङ्ग, तनहूँ, स्याङ्गजा, पर्वत लगायतमा बस्ने गुरुङ्गले आफ्नो ठूलो साँस्कृतिक चाडका रुपमा मनाउने गरेको पाइन्छ ।

कमेन्टहरु
Loading...