तीज मनाउन कास्की प्रशासनले कडाइ गरेको प्रति महासंघको आपत्ति

पोखरा, २६ साउन / तीज पर्वमा प्यालेस र होटलमा तीज मनाउनलाई जिल्ला प्रशासन कार्यालय कास्कीले कडाइ गरेको प्रति विश्व हिन्दु महासंघ गण्डकी प्रदेशले आपत्ति जनाएको छ ।

महासंघले शनिबार पोखरामा पत्रकार सम्मेलन गरि जिल्ला प्रशासन कार्यालय कास्कीले तीजमा तडक–भडक नगर्न तथा पार्टी प्यालेस र होटलमा तीज नमनाउन सार्वजनिक सूचना जारी गरेको प्रति विरोध जनाएको हो ।

संस्कृति प्रति राज्य अनुदार भएको भन्दै मुलुकमा अन्य धर्मलाई प्रश्रय मिल्ने गरी हिन्दू धर्मको बर्खिलापमा प्रशासन उत्रिएको आरोप महासंघको छ ।

महासंघ कास्कीका सचिव कमल पौडेलले सरल तरिकाले दिदीबहिनीहरु रमाइलो गर्दा प्रशासनले गिद्दे नजर लगाएको बताए ।

महासंघकी अध्यक्ष पार्वता पौडेलले प्रशासनको पत्रले समाजमा त्रास फैलिएको आरोप लगाइन् । प्रशासनले उक्त कदम फिर्ता नलिए अदालतको शरणमा जाने उनको चेतावनी छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले भने तीज मनाउन रोकेको नभइ व्यवस्थित गर्न खोजेको प्रतिक्रिया दिए । उनले महिनौदेखि नभइ निश्चित समयमा मात्रै तीज मनाउन आग्रह गरिएको बताए ।

जिल्ला प्रशासन कार्यालय कास्कीले केही दिनअघि एक विज्ञप्ति जारी गर्दै तडकभडक रुपमा नभइ सामान्य रुपमा तीज मनाउन आग्रह गरेको थियो ।

कमेन्टहरु
Loading...