पोखरामा स्वीमिङ पुल बनाउन साढे दुई करोड रुपैयाँ

पोखरा, २ असार/नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने जिम्मेवार गण्डकी प्रदेश खेलकुद परिषदको काँधमा छ । त्यस भन्दा अघि पोखरामै सागका केही खेल समापन गरिने छ । सागको लागि पुर्वाधार निर्माण गरिएको छ ।

गण्डकी प्रदेशले आयोजना गर्ने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि स्वीमिङ पुल(पौडी पोखरी) निर्माणलाई प्राथमिकतामा राखेको छ । सरकारले पनि पौडी पोखरी निर्माणको लागि रातो किताबमै उल्लेख गरी बजेट समेत छुट्टाएको छ । रातो किताबमा उल्लेख भए अनुसार पोखरामा पौडी पोखरी निर्माणको लागि साढे दुई करोड रुपैयाँ छुट्टाइएको छ ।

‘पौडी पोखरी बनाउन रातो किताबमा उल्लेख छ । साढे दुई करोड छुट्टाएको छ ।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले भने–‘श्रावणमा बजेट आउने अपेक्षामा छौं । त्यसपछि टेण्डर प्रक्रिया गरेर काम अगाडि बढाउँछौं ।’ गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने मिति भने २०७७ फागुन २० देखि २७ गतेसम्म तय गरिएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराले पुर्वाधार विभिन्न शीर्षकमा बजेटको लागि प्रस्ताव समेत गरेको छ । जग्गा पोखरा रंगशाला परिसरभित्रै छुट्टाइएको छ । पौडी पोखरी निर्माण नभएको अवस्थामा निजी क्षेत्रका स्वीमिङ पुलमै पौडी प्रतियोगिता टुग्याउनुपर्ने बाध्यता छ । जुन नेपालगन्जमा देखिएको थियो ।

राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशालाभित्रको ४१५ रोपनी जग्गामा विभिन्न खेलकुदका भौतिक पुर्वाधार निर्माण गरेको छ । गुरुयोजना अनुसार जग्गा छुट्टाइएको छ । छुट्टाइएको जग्गामा पौडी पोखरी निर्माण गर्न पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराले परिषदसँग ४० करोडको बजेटको अनुमानित गरेको थियो ।

‘रंगशालाको बनाइएको गुरुयोजना अनुसार भलिबल कोर्टभन्दा माथिल्लो भाग जग्गा छुट्टाइएको छ ।’ उनले भने–‘अहिलेसम्म त्यही छुट्टाइएको जग्गामा बनाउने योजना छ, भोलि राष्ट्रिय खेलकुद परिषदको सल्लाहमा निर्माणको काम गर्ने छौं ।’

अध्यक्ष श्रेष्ठका अनुसार नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी अन्तराष्ट्रिय मापदण्ड अनुसारको पौडी पोखरी निर्माण गरिने छ । बजे विनियोजन भए ठेण्डर प्रक्रिया मार्फत निर्माण कार्यलाई छिटो पुरा गर्ने लक्ष्य र योजना क्षेत्रीय खेलकुद विकास समितिले लिएको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पौडीको महिला तथा पुरुष दुवै इभेण्ट पोखरामै आयोजना गर्ने प्रारम्भिक निर्णय गरिसकेको छ ।

अन्तराष्ट्रिय मापदण्ड अनुसार पौडी पोखरी २५ मिटर चौडाई र ५० मिटर लम्बाईको हुने छ । यद्यपी २५ मिटर लम्बाई र २५ मिटरकै चौडाई समेत अन्तराष्ट्रिय मान्यता प्राप्त हुने प्राविधिकहरु बताउँछन् । ‘हामीले ४० करोड रुपैयाँ बजेट प्रस्ताव गरेका हौं ।’ उनले भने–‘प्रस्ताव अनुसार बजेट उपलब्ध भए हिटिङयुक्त पोखरी बनाईने छ ।’

पोखरामा आयोजना हुने विद्यालयस्तरीयदेखि खुल्ला पौडी प्रतियोगिता भने निजी क्षेत्रका पौडी पोखरीमा आयोजना गरिदैं आएको छ । खेलकुद परिसर भित्रै निर्माण गरिए खेलाडीले नियमित रुपमा पौडीको प्रशिक्षण पाउने छन् । रंगशालाभित्रै छुट्टाइएको जग्गामा पौडी पोखरी बनाउन सकिए लागत केही कम पौडी संघको छ ।

२५ मिटरको चौडाईको बनाई आवश्यकता अनुसार लेन बनाउन सकिने कास्की जिल्ला पौडी संघका अध्यक्ष वैभव पौडेल बताउँछन् । लेन खेलाडीको सहभागिता अनुसार बनाउन सकिन्छ । पोखरी न्यूनतम ६ फिट गहिराईको बनाउन जरुरी छ ।

हिटिङको व्यवस्था भएको अवस्थामा बाह्रैमा प्रशिक्षण गराउन सकिन्छ । पोखरामा वर्षेनी नियमित रुपमा आयोजना गरिने पौडी प्रतियोगिता भने निजी पौडी पोखरामा सञ्चालन गरिदैं आएको छ ।

कमेन्टहरु
Loading...