विद्यार्थी बोकेको बस दुर्घटना हुदाँ २२ मृत्यु १५ घाइते

दाङ, ७ पुष /दाङमा विद्यार्थी बोकेको बस दुर्घटना हुदाँ २२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राम्री र हर्नेटीको बीच भागमा बा ४ ख ९७६६ नम्बरको विद्यार्थी बोकेको बस दुर्घटना २१ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिए ।

त्यस्तै थप एकजना घाइतेको राप्ती अंचल अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।  १५ जना घाइते मध्ये १४ जनाको अवस्था गम्भीर रहेको हुँदा उनीहरु सबैलाई राप्ती अंचल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि बाँके तर्फ पठाइएको छ । बस दुर्घटनामा परि घाइते भएका १५ जना मध्य १० जना पुरुष र ५ जना महिला रहेका छन् ।

बसमा दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ स्थित गैरागाउँमा सञ्चालनमा रहेको सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक सवार थिए । वन विज्ञानमा अध्ययनरत विद्यार्थीहरु जुलोजी र बोटानीका शिक्षकसहित फिल्ड भ्रमणका लागि शुक्रबार नै कपुरकोट गएका थिए ।

तीनै विद्यार्थी र शिक्षक सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पती उद्यानको अवलोकन भ्रमण गरी दाङ तर्फ फर्कंदै गर्दा शुक्रबार साँझ ५ बजेतिर दुर्घटनामा परेको प्रहरीको भनाई छ ।

प्रहरीले बसमा जम्मा ३७ जना सवार रहेको जानकारी दिएको छ । जसमा ३४ विद्यार्थी, २ शिक्षक र एकजना चालक थिए । यही वर्षदेखि सञ्चालनमा आएको बहुप्राविधिक शिक्षालयका विद्यार्थीको प्रयोगत्मक कक्षाको लागि नमस्ते राप्ती प्रालीको बस भाडामा विद्यालयले लगेको थियो । झन्डै ७ सय मिटर तल खसको बस क्षतविक्षत भएको छ ।

कमेन्टहरु
Loading...