पर्यटन प्रवद्र्धनको ‘ब्राण्ड’ बन्दै पोखरा सडक महोत्सव

सुरेन्द्र पौडेल
पोखरा, २० मंसिर /पर्यटकीय नगरी पोखरामा धेरै प्रकारका मेला तथा महोत्सव हुँदै आइरहेका छन् । महोत्सवहरुको भिडमा सडक महोत्सवले भने फरक पहिचान बनाउन सफल छ । पर्यटन प्रवद्र्धनका लागि सडक महोत्सव एउटा ‘ब्राण्ड’का रुपमा स्थापित भइसकेको यहाँका पर्यटन व्यवसायीहरु बताउँछन् । निरन्तर १८आँैं वर्षसम्म सफलता प्राप्त गरिसकेको सडक महोत्सवको १९औं संस्करण यस वर्ष हुँदैछ । यस वर्ष आयोजित महोत्सवको आयोजक संस्था रेष्टुराँ एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखराले तयारी सुरु गरिसकेको उपाध्यक्ष लक्ष्मण बरालले जानकारी दिए ।

हरेक अँग्रेजी नयाँ वर्षमा हुने यो महोत्सवको आगामी संस्करण पुसको १३ देखि १७ गतेसम्म पोखराको मुख्य पर्यटकीय गन्तव्य तथा फेवातालको किनार लेकसाइडमा हुँदैछ । ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाऔं’ नाराका साथ रेवानले प्रत्येक वर्ष सडक महोत्सवको आयोजना गर्दै आइरहेको छ । पर्यटकीय नगरी पोखराको लेकसाइडस्थित खुल्ला ३ किलोमिटर भन्दा बढी सडकमा महोत्सव हुन्छ । महोत्सवका अवसरमा सडकमा पोखराका तारेदेखि सामान्य होटल तथा रेष्टुराँहरुले खानाका स्टलहरु राख्छन् ।

पोखरा सडक महोत्सव
पोखरा सडक महोत्सव

फरक खालको झझल्को दिने गरी वर्षेनी आयोजित सडक महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरामा आकर्षित गर्न सफल रहेको रेवान पोखराका निबर्तमान अध्यक्ष गोपी भट्टराईले बताए । ‘पर्यटन प्रवद्र्धनमा सडक महोत्सव ब्राण्डका रुपमा स्थापित भइसकेको छ,’ उनले भने, ‘पर्यटन प्रवद्र्धनको यो ब्राण्डलाई हामीले महत्वपूर्ण पर्वका रुपमा लिएका छौं ।’

पोखरालाई संसारभर चिनाउन तथा आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङले बताए । उनले भने, ‘यस पटकको महोत्सवमा सकेसम्म धेरै आन्तरिक र बाह्य पर्यटक भित्र्याउने तयारीमा हामी छौं ।’ महोत्सव सफल पार्न विभिन्न उपसमिति गठन गरिएको छ । पोखरालाई अन्तर्राष्ट्रियस्तरमा पर्यटकीय शहरको रुपमा चिनाउन पनि महोत्सव सफल भइरहेको आयोजकको दावी छ ।

पोखरा सडक महोत्सव
पोखरा सडक महोत्सव

महोत्सवमा पोखरामा अवस्थित आमा समूह, भजन समूह लगायत अन्य संस्थाहरुको साँझी प्रदर्शन एवं प्रतियोगिता, पोखरा सेरोफेरोका जातजातिको सांस्कृतिक प्रदर्शनी र पोखरा भन्दा बाहिरका सांस्कृतिक गतिविधिहरु प्रदर्शनी गरिनेछ । बाल उद्यान, लाइभ कन्सर्ट र स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुको सांस्कृतिक प्रस्तुति पनि महोत्सवको आकर्षण बन्नेछ । रेवान पोखराले महोत्सव लगायत अन्य थुप्रै रचनात्मक गतिविधिहरु गर्दै आइरहेको अध्यक्ष गुरुङले बताए ।

महोत्सवकै कारण अँग्रेजी नयाँ वर्ष पोखरामा गएर मनाउने संस्कृति विकसित भएको रेवान पोखराका महासचिव विश्वराज पौडेल बताउँछन् । ‘पोखराको लेकसाइड क्षेत्रमा महोत्सव अवधिभर आन्तरिक र बाह्य पर्यटकको भिड लाग्छ,’ उनले भने, ‘पर्यटन क्षेत्रलाई चलायमान बनाउन र दीगो पर्यटन प्रवद्र्धन गर्न सडक महोत्सव सहयोगी बनेको छ ।’

कमेन्टहरु
Loading...