महानगरपालिकाको योजना एक वडा एक खेल मैदान

पोखरा, २७ फागुन/पोखरा महानगरपालिकाले प्रत्येक वडामा एक खेल मैदानको पुर्वाधार निर्माण गर्ने योजना अघि सारेको छ । सबै वडालाई पत्रचार गर्दै महानगरपालिकाले वडाले प्रस्ताव गरेको जग्गामा उपयुक्त खेलकुद पुर्वाधार बनाउने जनाएको छ ।

वडालाई महानगरपालिकाले जग्गासहित कुन पुर्वाधार बनाउने सबै पेश गर्नुपर्ने उल्लेख छ । महानगरपालिकाले आईतबार मात्रै पोखरा महानगरपालिकाका ३३ वटै वडालाई पत्राचार गरिसकेको छ ।

मेल मार्फत गरिएको पत्रचार कतिपय वडामा भने जानकारी नै नआएको जनाईरहेका छन् । सोमबार विदा भएकै कारण पनि इमेल नखोलिएको जनाइएको छ । महानगरपालिकाले यही फागुन मसान्तसम्मको म्याद राखेर परिपत्र गरेको हो ।

‘खेलकुद पुर्वाधार निर्माणको लागि केही बजेट विनियोजन गरिएको छ । योजना विनियोजनको लागि वडा समितिको माग र प्रस्तावको आधारमा खेल मैदान निर्माण कार्य अगाडि बढाउने योजना अनुसार वडा कार्यालयभित्र भलिबल तथा व्याडमिन्टन कोर्ट निर्माणको लागि आवश्यक रहेको भए यही मिति २०७५ फागुन ३० गतेसम्म प्रमुखको कार्यालय इमेल गरिदिनुहुन आदेशअनुसार अनुरोध छ ।’ पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले उल्लेख गर्दै भने–‘आवश्यक डिजाईनसहित पठाईसकिएको छ । अब वडाहरुले त्यसको प्रतिक्रिया पठाउने छन् ।’

। महानगरपालिकाले एक वडा एक खेल मैदानको लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ । महानगरपालिकाले व्याडमिन्टन कोर्ट र भलिबल कोर्ट निर्माण गर्ने प्रस्ताव पठाएको छ । यद्यपी केही वडाहरुमा दुवै पुर्वाधार बनिसकेको अवस्था छ । वडाहरुलाई सार्वजनिक जग्गामा प्रस्ताव गर्नुपर्ने उल्लेख छ । त्यसले गर्दा कतिपय वडाहरुमा सार्वजनिक जग्गा नै नभएको वडाले जिकिर समेत गरेका छन्

‘व्याडमिन्टन र भलिबल कोर्ट बनाउने प्रस्ताव छ,’ उनले भने–‘छुट्टाईएको बजेट अनुसार मापदण्डका पुर्वाधार निर्माण गर्ने योजना हो ।’ भलिबल कोर्टको लागि दुई लाख ९३ हजार ७ सय ५५ रुपैयाँको लागत अनुमान गरिएको छ । व्याडमिन्टन कोर्टको लागि भने ३ लाख ७३ हजार रुपैयाँ खर्च हुने यकिन गरिएको छ । महानगरपालिकाले नागरिकको स्वास्थ्यप्रति सचेत बन्दै केही दिन अघि मात्रै प्रत्येक पार्कमा ओपन जिम निर्माण गर्ने जनाइएको छ । पोखरा महानगरपालिका १८ सराङकोट तथा २९ बेगनास तालको पार्कमा ओपन जिम बनाउने घोषणा महानगरपालिकाले गरिसकेको छ ।

एक वडा एक खेल मैदान प्रस्ताव गर्नु उपयुक्त भएपनि वडा भवन बनाउने जग्गा नै नभएको पोखरा महानगरपालिका वडा नं ७ का सचिव रुद्रप्रसाद बस्ताकोटीले बताए । ‘वडा भवन बनाउने जग्गा छैन् । कहाँबाट खेल पुर्वाधार बनाउने जग्गा पाउनु ’ उनले गुनासो गर्दै भने–‘श्रीकृष्ण माविको जग्गा नै छ त्यही बनाउनुको विकल्प छैन् ।’ उनले खेलकुदको पुर्वाधार भन्दा पहिला वडा भवनको पुर्वाधार बनाउनुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिका वडा नं ५ का अध्यक्ष धनबहादुर नेपालीले महानगरपालिकाले एक वडा एक खेल मैदानको प्रस्ताव पठाएको विषयमा भने जानकारी नभएको उल्लेख गरे । ‘जानकारी आएको छैन् । ईमेल भने चेक गरिएको छैन् । आईतबार ईमेल आएको भए, सोमबार विदा भएकोले हेरिएन ।’ उनको भनाई थियो । उनका अनुसार एक वडा एक खेल मैदान महानगरपालिकाको योजना भएकोले पनि हामीले परिपत्र अनुसार प्रस्ताव गरेर पठाईने छ ।

उनीसँगै अन्य केही वडाले महानगरपालिकाको पठाएको प्रस्तावको विषयमा जानकारी नभएको उल्लेख गरे । पोखरा महानगरपालिका वडा नं ३ का अध्यक्ष रविन्द्रबहादुर प्रजुले पनि जानकारी प्राप्त नभएको उल्लेख गरे । उनले ईमेलबाट प्राप्त प्रस्ताव अध्ययन गरी आवश्यक जग्गा हेरेर महानगरपालिका पठाउने स्पष्ट पारे ।

वडाहरुमा ईमेल चेक नहुदाँ महानगरपालिकाको परिपत्रको कार्यान्वयनमा ढिलाई हुने ठम्याई समेत प्रमुखका स्वकीय सचिव तिमिल्सिनाले बताए । ‘स्मार्ट वडा बनाउने नारा छ । सबैमा फ्रि वाईफाईको व्यवस्था छ । तर कर्मचारीले ईमेल नै चेक नगर्नु अर्को विडम्बना हो ।’ उनको भनाई थियो ।

कमेन्टहरु
Loading...