समायोजनले एसईई, ११ र १२ कक्षाको परीक्षा सार्ने तयारी

फाइल तस्बिर

काठमाण्डौं, १९ फागुन /राष्ट्रिय परीक्षा बोर्डका सात प्रदेश सहित १२ वटै कार्यालयमा रहेका प्रमुख समायोजनमा परेपछि चैत १० गते देखि संचालन हुने कक्षा १० को एसइई, ११ र १२ को परीक्षा प्रभावित हुने देखीएको छ ।

परीक्षामा संचालन र व्यवस्थापनमा समस्या आउने भएपछि बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई पत्राचार गरेको छ । बोर्डले परीक्षा अवधीभर ती कर्मचारीलाई सामायोजना नगर्न अनुरोध गर्दै मन्त्री पोखरेललाई पत्र पठाएको हो ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पोखरेले परीक्षामा व्यवधान आउने भएपछि मन्त्रीलाई पत्राचार गरेको जानकारी गराए । बोर्डले गएको सोमबार बोर्डका अध्यक्ष एवं मन्त्रीलाई पत्र पठाएको हो । बोर्ड अन्तर्गत काठमाडौं, पोखरा, विराटनगर, कोहलपुर, सुर्खेत, लाहानका कार्यालय प्रमुख संघ अन्तर्गत विभिन्न निकायमा समायोजन भएका छन् । अधिकांश समायोजनमा परेका शिक्षा मन्त्रालयका उपसचिव हुन् ।

त्यस्तै जनकपुर, हेटौडा, र धनगढी कार्यालयका प्रमुख प्रदेशमा, बुटवल, दाङ र डडेल्धुरा कार्यालयका प्रमुख स्थानीय तहमा समायोजनमा परेका छन् । त्यस्तै परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका ५ उपसचिव मध्य एक जना संघ र ४ जना स्थानीय तहमा समायोजन भएका छन् ।

समायोजन भएका ती कर्मचारीलाई सरकारले हालसम्म समायोजनको पत्र पठाएको छैन । पत्र नपठाए पनि सबै कर्मचारी खटाएको कार्यालयमा जाने मनस्थिति बनाइसकेका छन् । सामायोजनमा परेका कर्मचारी गएपछि अधिकांस कार्यालय प्रमुख विहीन हुने भएका छन् ।

बोर्डले यो वर्ष एसइइमा करिब साढे ५ लाख , कक्षा ११ र १२ मा करिब १० लाख विद्यार्थीको परीक्षा व्यवस्थापन गर्नु पर्ने छ ।

कमेन्टहरु
Loading...