सरकार प्रतिबद्धताबाट बाहिर गएको छैन–मन्त्री अधिकारी

पोखरा, १ मंसिर/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सरकार नीति तथा कार्यक्रमका साथै निर्वाचनका समयमा गरिएका प्रतिबद्धताबाट बाहिर नगएको बताउनुभएको छ ।

भारतीय राजदूतावासको आर्थिक एवं प्राविधिक सहयोगमा पोखरा–३३ स्थित सरस्वती टीका माध्यमिक विद्यालयमा निर्मित १२ कोठे पक्की भवनको उद्घाटन गर्दै उहाँले जनचाहना अनुरुप सुव्यवस्थाका साथै तीनवटै सरकारको समन्वयका माध्यमबाट आर्थिक समृद्धि र विकासको लक्ष्यमा सरकार लागेको बताउनुभयो ।

देश लामो समयसम्म राजनीतिक अस्थिरता एवं सङ्क्रमणमा रुमल्लिएको बताउँदै उहाँले वर्तमान स्थिर एवं दीर्घकालीन सरकार क्षणिकतामा अलमल नगरी अघि बढ्नेमा जोड दिनुभयो । भारत सरकारबाट विद्यालय भवन निर्माणका लागि प्राप्त सहयोग यहाँका विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

विद्यालयले प्रस्ताव गर्दै आएको प्राविधिक शिक्षा कार्यक्रम आगामी शैक्षिक वर्षदेखि सञ्चालन गराउनका लागि आफूले पहल गरिरहेको मन्त्री अधिकारीले जानकारी दिनुभयो ।  भारतीय राजदूतावासका उपप्रमुख डा अजय कुमारले भारत सरकारले नेपालको शिक्षालगायत विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यले गुणस्तरीय शिक्षाका लागि विद्यालय प्रतिबद्ध भएको बताउँदै विद्यालयमा अङ्ग्रेजी तथा नेपाली दुबै माध्यम गरी पाँच सय तीन छात्रा र पाँच सय ९३ जना छात्र सहित कूल एक हजार ९६ जना विद्यार्थी अध्ययन गरिरहेको जानकारी दिनुभयो ।

नवनिर्मित उक्त भवन तीन करोड ६३ लाख २५ हजार (भ्याट बाहेक)मा निर्माण सम्पन्न भएको जनाइएको छ । प्रधानाध्यापक लालप्रसाद भण्डारीले नवनिर्मित भवनबाट विद्यालयको पठनपाठनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष बैनबहादुर क्षेत्रीले मुलुकका सामुदायिक विद्यालयको भौतिक संरचना निर्माणमा भारतीय राजदूतावसको महत्वपूर्ण सहयोग रहदै आएको उल्लेख गर्नुभयो । प्रदेशसभा सदस्य कृष्ण थापाले जिल्ला समन्वय अधिकारी डिल्लीराम सिग्देल, वडा अध्यक्ष शिवप्रसाद आचार्य, शिक्षक कृष्णप्रसाद तिवारी, विद्यार्थी रितिका आचार्यले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

–––

कमेन्टहरु
Loading...