पोखरामा विद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिता शुरु

पोखरा, २७ माघ/विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिता आईतबारदेखि शुरु भएको छ । कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिपकबहादुर गोदारले उदघाटन गर्दै विद्यालय नै खेलकुदको उर्वरभूमि भएको बताउँदै स्कुलबाट खेलकुदको विकासको शुरुवात गर्नुपर्नेमा जोड दिए । उनले खेलुकदको विकासको लागि जिल्ला खेलकुद विकास समितिले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै खेलकुद केवल विद्यालयको लागि मात्रै नभई जिल्ला, क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एरिनामा उत्रिनुपर्ने बताए ।

कास्की जिल्ला क्रिकेट संघको आयोजना तथा नेप्लिज इनकाउन्र्टस एजुकेशनको मुख्य प्रायोजनामा सञ्चालित प्रतियोगितामा १२ वटा विद्यालयले सहभागिता जनाएका छन् । लिगकम नकाउटको आधारमा सञ्चालित प्रतियोगिताको पहिलो दिन कुमुदिनी होम्सले अमरसिंह नमूनामाविलाई २७ रनले पराजित गरेको छ ।

कुमुदिनी होम्सले पहिले व्याटिङ गर्दै ९ विकेटको क्षतिमा ११५ रन बनाएको थियो । ११६ रनको लक्ष्य पछ्याएको अमरसिंह नमूना मावि भने ८८ रनमै समेटियो । त्यसैगरी अर्को खेलमा मदरल्याण्डले हिमाञ्चल बोर्डिङ स्कुललाई ८२ रनले पराजित गर्दै सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । मदरल्याण्डका १४ रन बनाई तीन विकेट लिएका सुरेश भट्टराई म्यान अफ दि म्याच घोषित भएका थिए ।

ह्वाई वरी इभेण्ट मेनेजमेन्ट प्रालिको व्यवस्थापन र संयोजनामा आयोजित प्रतियोगिताको उदघाटन समारोहमा नेप्जिल इन्टकाउण्टर्स एजुकेशनप्रालिका प्रबन्ध निर्देशक नारायण पहारी, कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष चन्द्रकुमार गुरुङ, तथा अफिसियल भोजबहादुर बरालले विद्यालयस्तरदेखि नै क्रिकेटको विकास र विस्तारमा सबैले चासो दिनुपर्ने खाँचो औल्याएका थिए ।

प्रतियोगितामा कुमुदिनी होम्स, अमरसिंह नमूना मावि, मदरल्याण्ड बोर्डिङ, हिमाञ्चल बोर्डिङ, पास्कल, प्रतिभा बोर्डिङ, हिमालयन, नेपाल भारत मैत्री विद्यालय, टप्स, सृजना, जनप्रिय र जुनियर सिटीजन्य एकेडेमीको सहभागिता रहेको छ ।

विजेताले २५ हजार नगद राशी पुरस्कार स्वरुप पाउने छ भने उपविजेताले १५ हजार नगद राशीको पुरस्कार प्राप्त गर्ने छ । विधागत रुपमा बेष्ट व्याट्सम्यान, बेष्ट बलर, म्यान अफ दि सिरिज र इमर्जिङ प्लयेर तथा खेलको म्यान अफ दि म्याचको पुरस्कार समेत प्रदान गरिने छ । । उनले प्रतियोगिताको लागि ५ लाख रुपैयाँ खर्च छ । म्यान अफ दि सिरिज घोषित हुने खेलाडीलाई दिल्लीस्थित बि.आर स्पोर्टस सेन्टरले एकवर्षको लागि क्रिकेट किट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

कमेन्टहरु
Loading...