सेतीमा बाढी चट्टान खसेर- नासा

पोखरा, १४ माघ/दुई वर्ष अघि सेती नदीमा आएको आकस्मिक भीषण बाढीको कारणका सम्बन्धमा गरिएको एक अनुसन्धानबारे अमेरिकी अन्तरिक्ष संस्था नासाको ‘अर्थ अब्जर्भेटरी’ले ब्लग प्रकाशित गरेको छ। अनुसन्धानको नतिजाअनुसार सेतीको साँघुरो खोचमा चट्टान खसेर नदी केही हप्ता थुनिएपछि त्यहाँ ठूलो परिमाणमा पानी जम्मा हुन पुगेको उल्लेख गरेको छ । २०६९ वैशाख २३ गते बिहान अन्नपुर्ण चौथो हिमालको छेउबाट निकै ठूलो चट्टानसहितको हिमपहिरो सेतीको खोँचमा खसेपछि पहिले चट्टान खसेर बनेको बाँध भत्कियो र त्यहाँ केही हप्तादेखि जम्मा भएको पानीले भीषण बाढीको रुप लिन पुगेको अनुसन्धानले देखाएको छ ।

सेतीमा नदीमा आएको बाढीका केही झकल
सेतीमा नदीमा आएको बाढीका केही झकल

सेतीको मुहान क्षेत्रमा बाढी ल्याउनसक्ने आकारको हिमताल नै रहेको उल्लेख गरेको छ । हिमपहिरो खोँचमा खस्दा उत्पन्न हुने तापले हिमपहिरोमा भएको हिउँको १० प्रतिशतभन्दा बढी पगाल्न नसक्ने १० प्रतिशतबाट निस्कने पानीले त्यति ठूलो बाढी ल्याउनसक्ने सम्भावना नै नभएको अध्ययनले औंल्याएको छ।

सो क्षेत्रमा बाढी आउनुभन्दा केही समयपहिले सेतीको पानी थुन्नसक्ने चट्टानको पहिरो गएको भेटिनु र सो समयमा नदीको तल्लो भागमा सेतीमा सधैँ बग्नेजस्तो सेतो रंगको नभई सफा खालको पानी बग्नु, पानीको मात्रा पनि कम हुनुलगायतका कारणले चट्टानको पहिरोले सेती नदी थुनेको हो भन्ने निष्कर्षमा यो अध्ययन पुगेको हो।

त्यस्तै हेलिकोप्टरबाट गरेको स्थलगत भ्रमण र स्याटेलाइट तस्बिरको आधारमा अन्नपुर्ण चौथोको छेउबाट बिशाल चट्टान सहितको हिमपहिरो सेतीको खोँचमा खसेर सेती नदी थुनिएर बनेको कृत्रिम ताल फुटेको निष्कर्ष निकालिएको हो। लेजर प्रविधिले गरिएको नापजाँचले सेतीको खोंचमा बैशाख २३ मा गएको बाढीमा बगे जति पानी जम्मा भएर रहन सक्ने ठाउं रहेको भेटिएको पनि अध्ययनले जनाएको छ।

पटकपटकको फिल्ड अध्ययन र स्याटेलाइट तस्बिरहरुको आधारमा गरिएको सो अनुसन्धान एरिजोना बिश्वबिद्यालयका हाईड्रोलोजिस्ट तथा अनुसन्धानकर्ता जेफ्री कर्गेलले अन्य अमेरिकी तथा नेपाली बिशेषज्ञहरु समेतको संलग्नतामा गरेका थिए। वाढिले ठुलो मात्रा धनमालको क्षती पुयाएको थियो भने करिब एक सय जनाको ज्यान लिदएको थियो ।

कमेन्टहरु
Loading...